काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताको च्याप्टर क्लोज भएको बताउनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा अध्यक्षलाई अझ शक्तिशाली बनाउने गरी विधान संशोधनको प्रस्ताव राखेको भन्दै नेता नेपालले आफूनिकटका नेताहरूसँग सो प्रतिक्रिया दिनुभएको हो ।

एमाले वरिष्ठ नेता नेपालको भनाइ उद्धृत गर्दै नेपाल पक्षीय एक नेताले बताए अनुसार, ‘ओलीले सोमबार गरेको एकलौटी निर्णयले एकताको च्याप्टर क्लोज भएको छ । देशव्यापी रूपमा समानान्तर गतिविधिलाई अब तीव्रता दिनुपर्छ । हिजोको निर्णयले पार्टी एकतामा बाधा पुर्याएको छ ।’ पार्टीभित्र देखिएका विवाद मिलाउन पहल भइरहेका बेला अध्यक्ष ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक गरी विधान संशोधन प्रस्ताव अगाडि बढाएपछि वरिष्ठ नेता नेपाल पक्ष असन्तुष्ट छ ।

एमालेले हिजो सोमबार तुलसीलाल स्मृति भवनमा केन्द्रीय कमिटी बैठक गरेर अध्यक्ष र केन्द्रीय सदस्य निर्वाचित गर्नुका साथै अन्य मनोनित गर्ने गरी विधान संशोधन प्रस्ताव अगाडि बढाउने निर्णय गरेको थियो । एमालेले विधान संशोधन प्रस्तावलाई अब भदौ २७ र २८ मा हुने विधान अधिवेशनमा पेश गर्ने भएको छ । यो विधान पारित भए दुई जना उपाध्यक्ष, एकजना महासचिव, दुई जना उपमहासचिव र सात जना केन्द्रीय सचिव, केन्द्रीय समितिले नै चयन गर्नेछ ।