काठमाडौं– केही दिनदेखि सुस्ताएको मनसुन बिहीबारदेखि पुनः सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको अधिकांश क्षेत्रको मौसममा सामान्यदेखि पूर्ण बदली भै भएको छ । महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश एक, दुई, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा सामान्यदेखि मध्यम खालको वर्षा भइरहेको छ ।

आज मङ्गलबार दिउँसो देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश एक, बागमती प्रदेश र लुम्बिनी प्रदेशको एक,दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । बुधबार पनि देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश एक, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भोली बुधबारदेखि बिस्तारै मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने र सो प्रणालीका कारण देशभर मनसुन सक्रिय भई बिहीबारदेखि केही दिन धेरै स्थानहरूमा हल्कादेखि मध्यमखाले वर्षा हुने सम्भावना रहेको छ । बिहीबार प्रदेश एक र दुई का साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ भने शुक्रबार र शनिबार पनि प्रदेश एक र प्रदेश दुईका साथै बागमती,गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेश गरी सातै प्रदेशका केही स्थानहरूमा सामान्यदेखि भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ ।