काठमाडौं– नेपालमा पछिल्लो चौबीस घण्टामा ३ हजार ६ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० हजार ४ सय ४५ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय ९ जना र ६ हजार १ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । यस्तै गत २४ घण्टामा देशभर २२ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । अहिलेसम्म नेपालमा कोरोना भाइरसको कारण १० हजार १ सय १५ जनाले ज्यान गुमाइसकेका छन् । देशभर हालसम्म ३६ हजार २ सय ८८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् ।


यसैगरी काठमाडौं उपत्यकामा ९ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ५ सय ९३ जना, भक्तपुरमा १ सय ३८ जना र ललितपुरमा १ सय ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज देशभरबाट १ हजार ७ सय ८४ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ ।