काठमाडौं– नेकपा एमालेको आज बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्षलाई शक्तिशाली बनाउने भएको छ । उक्त बैठकले अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारीहरु भने महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले मात्र छान्ने प्रस्तावसहितको संशोधित विधान स्थायी कमिटीको बैठकले पास गरेको छ । आज ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृती प्रतिष्ठानको भवन बसेको ओली समूहको स्थायी कमिटी बैठकले पास गरेको हो । स्थायी कमिटीले पास गरेको उक्त प्रस्तावलाई केन्द्रीय कमिटीबाट अनुमोदन गराइने छ । पार्टी केन्द्रीय कमिटीको बैठक अहिले बसिरहेको छ । केन्द्रीय कमिटीले उक्त प्रस्ताव पास गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली थप शक्तिशाली हुनेछन् ।


सङ्गगठन विभाग प्रमुख समेत रहेको उपमहासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित विधान संशोधन मस्यौदा कमिटीले पोलिटब्यूरो र वैकल्पिक केन्द्रीय सदस्य हटाएर पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य मात्र रहने व्यवस्थाको प्रस्ताव गरेको छ । यसो गर्दा अब पार्टीमा पोलिट्ब्युरो र वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था हुने छैन । यसैगरी केन्द्रीय कमिटी सदस्यको सङ्ख्या बढाएर २ सय २५ जना पुर्याउने, उपाध्यक्षको सङ्ख्या घटाउने र सचिवको सङ्ख्या बढाउने समेत प्रस्ताव गरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको हो । असन्तुष्ट पक्षको नेतृत्व गर्दै आउनु भएको एमाले वरिष्ठ नेताद्वय खनाल–नेपाल पक्षको उपस्थिति विना गरिएको विधान संशोधनको प्रस्तावले अब एमालेको दुवैधार मिल्नेभन्दा अलग हुने दिशातिर जाने देखिएको छ ।