काठमाडौं — प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । आज दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा एमाले संस्थापन पक्षको बैठक बस्न लागेको हो । त्यसअघि ११ बजे पार्टी स्थायी कमिटीको बैठक बस्ने जानकारी एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएका छन् । स्थायी कमिटीको बैठक सकेर पछि केन्द्रीय कमिटीको बैठक बस्ने छ ।


आज सोमबार हुने बैठकमा अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले पेश गर्नुभएको राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेश गर्नुभएको साङ्गठनिक प्रस्ताव र सङ्गठन विभाग प्रमखु विष्णुप्रसाद पौडेलले पेश गर्नुभएको विधान संशोधनको प्रस्तावलाई एकरुपता दिने बताइएको छ । केन्द्रीय कमिटी बैठकमा यी तीन वटा प्रतिवेदन पेस गरेर खुला छलफल गरिने कार्यालय सचिव तामाङले नवसञ्चार अनलाइनलाई बताए । सचिव तामाङका अनुसार केन्द्रीय कमिटीको बैठकले अध्यक्ष, महासचिव र सङ्गठन विभाग प्रमुखले पेश गरेको प्रतिवेदनलाई अन्तिम रुप दिएपछि अनुमोदन गर्नेछ । सचिव तामाङले पछि त्यसलाई पार्टी कमिटी र जन वर्गीय सङ्गठनहरुमा पछि छलफल गर्ने जानकारी गराएका छन् ।

एमाले संस्थापन पक्षले विधान महाधिवेशनको तयारीका यी सबै कामहरु गरिरहेको छ । एमालेले आगामी भदौ २७ र २८ गते दुई दिन विधान महाधिवेशन गर्ने निर्णय गरिसेको छ । यस्तै विधान महाधिवेशनपछि असोज ३ मा देशभरका ६ हजार ७ सय ४३ वडामा एकै दिन वडा अधिवेशन र असोज ९ मा ७ सय ५३ पालिकामा अधिवेशन गर्ने एमालेको कार्यक्रम तय भैसकेको छ ।


पार्टी भित्रको विवाद समाधान गर्ने तर्फ एमालेको दुवै समूहले मुखले एकता गर्ने भनेता पनि एकताको लागि मुख्य बाधक संस्थापन पक्ष देखिएको छ । असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालले एकताका लागि संस्थापन पक्षले यस्ता खालका सबै गतिविधिहरु रोक्नु पर्ने भन्दै आएका छन् । पार्टी प्रवक्ता एवम् स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले भने एकताका लागि ढोका खुला रहेको भन्दै पार्टीको साङ्गठनिक कामहरु नरोकिने बताउनु भएको छ । एकताका लागि दोस्रो तहका नेताहरुबीच बारम्बार भेटघाट र छलफल भएता पनि एकताको लागि ठोस विन्दुमा पुग्ने आधार जुटेको छैन् ।


संस्थापन पक्ष आफ्नो ढङ्गले अघि बढिरहँदा असन्तुष्ट खेमा पनि आफ्नो पक्षको स्थायी र केन्द्रीय कमिटीको बैठक गरिरहेको छ । दुवै पक्षका गतिविधि हेर्दा तत्काल एमाले भित्रको विवाद सल्टिने अवस्था देखिंदैन । दुवै पक्षका गतिविधिले एकता गर्नेभन्दा पनि दूरी बढाउने काम भैरहेको छ । एमाले भित्रको अहिलेसम्मको राजनीतिक गतिविधिलाई हेर्दा यी दुवै समूहबीच एकता हुने सम्भावना क्षिण नै देखिन्छ । यद्यपि, पार्टी फुटको अपजस दुवै पक्षले लिन चाहेको छैन । त्यसैले पनि दुवै पक्षले एकताको नाममा आफ्नै ढङ्गले पार्टी गतिविधि सञ्चालन गर्दै आएका छन् । कार्यकर्ता तान्ने पक्षमा दुवै पक्ष सक्रिय छ ।