काठमाडौं – नेपाली काङ्ग्रेसको भदौमा गर्ने भनिएको १४ औं महाधिवेशन हुने नहुनेमा थप अन्योलता बढेको छ । पार्टी भित्रको विवादलाई मिलाउन सभापति शेरबहादुर देउवाले नसक्दा भदौ पछि काङ्ग्रेसको वैधानिकता माथि नै प्रश्न चिन्ह उठ्ने भएको छ । यसैक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन गराउन नसक्नु वर्तमान नेतृत्वको चरम असफलता भएको आरोप लगाउनु भएको छ ।

वरिष्ठ नेता पौडेलले महाधिवेशन नगरेर सभापति देउवाले पार्टीलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याएको आरोप लगाउँदै असफल व्यक्ति नै बारम्बार सत्ताको नेतृत्व गर्न पुगेको बताउनु भएको छ । काङ्ग्रेसको विधानमा चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थप गर्ने व्यवस्थाको प्रयोग गर्दै एक वर्ष थप भयो । संविधानमा व्यवस्था भए अनुसार पुनः छ महिना थप भयो । अब काङ्ग्रेसलाई महाधिवेशन लम्ब्याउने वैधानिकता देखिंदैन ।
नेता पौडेलले ‘यस्ता अवस्थामा पनि महाधिवेशन नगरेर नेपाली काङ्ग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ । यहाँभन्दा वर्तमान नेतृत्त्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ?’ भन्नुभएको छ । देशकै लागि यो अवस्था बिडम्बना भएको भन्दै नेता पौडेलले सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाप्रति इंकित गर्दै सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुगेको बताउनु भएको छ ।