काठमाडौ — जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहने छ । अधिकांश भागको मौसममा बदली भै केही भूभागमा हल्कादेखि मध्यम खाले वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।


अहिले बिहान पनि देशका अधिकांश क्षेत्रमा मौसम बदली भै सामान्य वर्षा भैरहेको छ । नेपालमा मनसुनी वायुको प्रभाव रहेको हुँदा देश एक र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा हुनसक्ने भन्दै मौसमविद्ले गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका विभिन्न ठाउँमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेकोे बताएका छन् ।


आइतबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू– भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।