काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताउनुभएको छ । वरिष्ठ नेता खनाल–नेपाल समूहको आज सम्पन्न केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी एकता प्रक्रिया चलिरहेको र १० बुँदे सहमति भएको अवस्थामा पनि अध्यक्ष ओलीले आफुहरुमाथि गालीगलौज गरेको भन्दै जति गालि गरेपनि आफुले पार्टी एकता होस् भन्ने चाहेको बताउनुभएको हो ।

‘आफ्नो मनोबल र उत्साहलाई कायम राख्दै एकताको प्रयत्न गरौ भन्दै एकताको प्रयत्न चलिरहेका बेलामा हामीले एकतामै जोड दिनुपर्छ’ नेता नेपालको भनाई छ । वरिष्ठ नेता नेपालले आफूहरुले दक्षिणपन्थी विचारविरुद्ध संघर्ष गर्दै आएको र यसका लागि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । नेता नेपालले भन्नुभयो – केपी ओलीले मलाई जति नै गाली गरे पनि म पार्टी एकता होस् भन्ने पक्षमा छु । एकताका लागि मेरो प्रयत्न जारी छ ।