चितवन – नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले अगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिनुभएको छ । आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताउनुभएको हो ।

महामन्त्री डा. कोइरालाका अनुसार, ‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ ।’ पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै उहाँले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनुपर्ने बताउनुभयो ।

काङ्ग्रेसको महाधिवेशन छिटो हुनुपर्ने आफूहरुको माग रहेको उहाँले जानकारी दिनुभयो । उहाँले, ‘पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु । संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ । सबै निर्वाचन लडे हारिन्छ । एउटामात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ ।’ फरक प्रसङ्गमा उहाँले आफू मन्त्रिमण्डलमा सहभागी नहुने र बाहिर बसेर सरकारलाई सहयोग गर्ने बताउनुभएको छ । –रासस