काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ । एसईईको मूल्याङ्कन प्रगतिबारे हिजो राष्ट्रिय परीक्षा बोर्डमा छलफल हुँदा देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको बोर्डका एक अधिकारीले जानकारी दिनुभयो ।

बोर्डले यो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो । तर, अधिकांश विद्यार्थीको अस्वाभाविक नम्बर आएपछि परीक्षाफल प्रकाशित गर्न ढिलाइ हुने भएको हो । प्रयोगात्मक विषय समावेश नगरीकनै पनि अधिकांश विद्यार्थीले ‘ए’ र ‘ए प्लस’ ल्याएपछि बोर्डको बिहीबार बसेको बैठकमा गम्भीर छलफल भएको थियो । उपत्यकाका तीनै जिल्लाका विद्यालयले आफ्ना अधिकांश विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको भेटिएको थियो भने तराईका ८ जिल्लाका विद्यालयले पनि आफ्ना विद्यार्थीलाई मनोमानी अङ्क दिएको भेटिएकोले गम्भीर राष्ट्रिय परीक्षा बोर्डमा छलफल भएको हो ।

भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्याङ्कन कार्यविधि, २०७८’ ल्याउँदै आन्तरिक मूल्याङ्कन गर्न निर्देशन दिएको थियो । कार्यविधिले विद्यार्थीको निर्माणात्मक २० प्रतिशत, निर्णयात्मक ५५ प्रतिशत र प्रयोगात्मकको लागि २५ प्रतिशत मूल्याङ्कन तोकेको छ । प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र निर्णयात्मक ७५ प्रतिशत मूल्याङ्कन आधार तोकिएको छ ।

तर केही दिनभित्रै परीक्षाफल प्रकाशित गर्ने तालिकासहित बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले २४ विद्यालयको आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ मात्रै दिएको मनोमानी अवस्था देखेपछि तत्काल छानबिन गर्ने निर्णय गरेको छ । बोर्डको भर्चुअल बैठकमा अचम्मित बन्दै बोर्डका एक अधिकारीले प्रश्न गर्नुभयो, ‘यस्तो अप्रत्याशित र अस्वाभाविक नम्बर दिएपछि कसरी परीक्षाफल प्रकाशित गर्न सकिन्छ ? यस्तो गम्भीर विषयमा तत्काल विद्यालयको छानबिन गर्नुपर्छ । अनिमात्रै नतिजा प्रकाशन गर्नतिर लाग्नुपर्छ ।