काठमाडौं – नेकपा एमालेको खनाल–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ । हिजोबाट सुरु भएको खनाल–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकमा पार्टीको अन्तरविरोधका विषयमा नेताहरुले आ–आफ्नो धारणा राखेका थिए । बुद्धनगरस्थित क्वालिटी क्याङ्कवेटमा भएको बैठकमा आ–आफ्नो धारणा राखेका अधिकांश केन्द्रीय कमिटी सदस्यहरुले १० बुँदे सहमति पार्टी एकताका लागि अपर्याप्त रहेको बताउनुभएको छ ।

हिजो बसेको नेकपा एमालेको खनाल–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकमा नेता भीम रावलले १० बुँदे सहमतिको ब्रिफिङ गर्नुभएको थियो । बैठकमा धारणा राखेका अधिकांश नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेको विषयमा आत्मालोचना गर्नुपर्ने बताउँदै पार्टी एकताका लागि सम्मानजनक पावर सेयरिङ हुनुपर्ने बताउनुभयो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको बाधक बनेको बताउँदै नेपालले आफू जतिसुकै अपमान सहेर पनि पार्टी एकता जोगाउन लागिपरेको बताउनुभयो