काठमाडौं – नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति एक महिनापछि अवैधानिक हुने भएको छ । काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आगामी भदौ २३ गते पछि प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको सभापति मान्न विधानले नदिने दाबी गरेको छ । नेता पौडेलले भदौ २३ पछि अहिलेको केन्द्रीय कार्यसमितिको वैधानिकता नै सकिने भन्दै देउवालाई अब पार्टीको सभापति मान्न नसकिने बताउनु भएको हो ।

नेपाली काङ्ग्रेसको विधान अनुसार प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधान छ । तर सभापति देउवाले पार्टी विधानमा व्यवस्था भए अनुसार एक वर्ष र संविधानले दिएको थप ६ महिना कार्यकाल पूरा हुन लाग्दा पार्टीको नेतृत्व पाँच वर्ष ६ महिना गर्नु भएको छ । संविधान र काङ्ग्रेसको विधानले पनि स्वयम् काङ्ग्रेसको वर्तमान केन्द्रीय समिति भदा २३ गते पछि अवैधानिक ठहर्ने छ । यस्तो अवस्थामा काङ्ग्रेसलाई कुनैपनि मानेमा भदौमा १४ औं महाधिवशेन गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

संवैधानिक रुपमा पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने व्यवस्था भएकाले भदौ २३ पछि पार्टीको वडादेखि केन्द्रीय तहसम्मका सबै कार्यसमितिको वैधानिकता सकिने हुँदा काङ्ग्रेसको सबै तहगत साङ्गठनिक संरचनाहरु रहँदैनन् । नेता पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक भएता पनि क्रियाशिल सदस्यता सम्बन्धी विवादको नाममा महाधिवेशन नहुने आशङ्का मुखरित भैरहेकोले नेता पौडेल पक्षले तोकिएको मितिमै महाधिवेशन गर्न संस्थापन पक्षमाथि दबाब सिर्जना गरेको छ । गत वर्ष भदौमै महाधिवेशन गर्ने कार्यतालिका बनेको थियो । तर देशमा कोरोना भाइरसको सङ्क्रमण, पार्टीकै क्रियाशील सदस्यता वितरण सम्बन्धी विवादले एक वर्ष पर धकेलिएको र महाधिवेशन तोकिएको मितिमा हुने /नहुनेमा थप अन्योलता बढेको छ ।

पार्टी संस्थापन पक्षलाई महाधिवेशन आगामी भदौमै सम्पन्न गर्न दबाव दिने उद्देश्यले संस्थापन इतरका नेताहरुको आज विशेष बैठक बसेको थियो । उक्त बैठक पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास क्षेत्रपाटीस्थित चाक्सीवारीमा बसेको थियो । उक्त छलफलपछि नेता पौडेलले पार्टी वैधानिकता जोगाउन विशेष महाविधेशनको प्रस्ताव गरिएको पत्रकारहरुलाई जानकारी गराउनु भएको थियो । वरिष्ठ नेता पौडेल ‘अझै पनि समय छ, प्रक्रिया पुर्याएर महाधिवेशन गर्न समय अपुग भए पनि पार्टीको वैधानिकता जोगाउन विशेष अधिवेशन गर्न सकिन्छ’ भन्नुहुन्छ । नेता पौडेलले ‘हामीले प्रस्ताव गरेका हौं । यहि नै अन्तिम विकल्प हो भन्ने चाहिँ होइन’ भन्नुभएको छ । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै वरिष्ठ नेता पौडेलले ‘अझै पनि महाधिवेशन हुने आधार तयार भइसकेको छैन । निर्धारित कार्यतालिका भत्किएको छ । तर पनि जतिसक्दो छिटो कार्यतालिका ल्याएर तोकिएकै मितिमा महाधिवेशन हुनुपर्न अन्यथा हामी अब पनि केन्द्रीय समिति भनेर स्वीकार गर्दैैनौं’ भन्नुभयो ।

काङ्ग्रेसमा क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन अन्योलमा परेको छ । भदौ १६ गतेदेखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने भनेर कार्यतालिका बनिसकेको भएता पनि क्रियाशील सदस्यता वितरणसम्बन्धी विवादले महाधिवेशन नहुने तिर मोडिएको छ । साउन १२ गतेदेखि नै वडा तहबाट सुरु हुनुपर्ने पार्टीको अधिवेशन क्रियाशित सदस्यता विवादले गर्दा काङ्ग्रेस पदाधिकारी बैठकले नै तल्लो तहका अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति देउवा, वरिष्ठ नेता पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच तीन दिनभित्र क्रियाशील सदस्यता विवाद छिनोफानो गरेर अधिवेशनको कार्यतालिका ल्याउने सहमति भएको थियो । तर विवाद निरुपण गर्ने विषयमा काङ्ग्रेसले अहिलेसम्म खासै गति लिन सकेको छैन ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा भएको आजको बैैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, पूर्वमहामन्त्री सिंह, केन्द्रीय सदस्यहरु अर्जुन नरसिंह के.सी., डा.मिनेन्द्र रिजाल र बलबहादुर के.सी.को सहभागिता थियो । संस्थापन पक्षले तल्लो तहको अधिवेशन सुरु गरेर प्रदेश अधिवेशन र महाधिवेशन पछि गर्ने तयारी गरेपछि पौडेल पक्षले निर्धारित मितिमै अधिवेशन गर्न लागि दबाव दिने रणनीति अनुरुप आज छलफल गरेको हो ।