काठमाडौं – स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म थप १ करोड ५ लाख खोप आउने बताउनुभएको छ ।आज संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा सांसद्हरूले सोधेका प्रश्नको जवाफ दिँदै राज्यमन्त्री श्रेष्ठले जापानबाट आगामी शनिबार र आइतबार ८ लाख एस्ट्राजेनेका खोप आउने र दोश्रो चरणमा थप ८ लाख खोप आउने जानकारी गराउनुभयो ।

यस्तै चीनबाट आगामी साउन ३१ गतेभित्र १६ लाख खोप आउने बताउनुभयो । चीनबाट नै साईनोफार्मको ६० लाख भेरोसेल खोप आउने र भारतबाट १० लाख खोप आइपुग्ने जानकारी गराउनुभयो । यस्तै भुटानबाट ३ लाख कोभिडशील्ड खोप आउनेक्रममा रहेको राज्यमन्त्री श्रेष्ठले बताउनुभएको छ ।

यस्तै आगामी पुससम्म मोर्डनाको ४० लाख खोप, कोभेक्स गाभीको १ करोड १० लाख खोप, विश्व स्वास्थ्य संगठनको अनुदानमा कोभेड गाभी १ करोड १३ लाख खोप आउने मन्त्री श्रेष्ठले बताउनुभयो । यस्तै अमेरिकाबाट ६० लाख फाईजर खोप ल्याउने तयारी छ । फाईजर खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूहलाई लगाइने मन्त्री श्रेष्ठले बताउनुभयो ।