काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा साउन महिनामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सबैभन्दा धेरै हुने प्रक्षेपण गरेको छ । मन्त्रालयले साउन महिनामा मात्रै कोरोना भाइरसबाट ५३ हजारभन्दा बढी नयाँ सङक्रमित थपिन सक्ने बताएको छ । साउन महिना पछि भने कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा क्रमशः घट्दैजाने बताएको छ ।


उक्तकुराको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले संसदको शिक्षा स्वास्थ समितिमा पेश गरेको विवरणमा उल्लेख गरिएको छ । महाशाखा प्रमुख डा. लोहनीले समितिमा पेश गर्नुभएको विवरण अनुसार साउनमा ५३ हजार ३ सय ७ जना, भदौमा ४५ हजार ७ सय २६ जना, असोज महिनामा ३८ हजार ५ सय ९७ जना, कात्तिक महिनामा ३१ हजार ४४ र मङ्सिर महिनामा २५ हजार १ सय ८३ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिने प्रक्षेपण गरिएको छ ।


यसरी हेर्दा साउनदेखि आगामी मङसिर महिनासम्म पाँच महिनाको अवधिमा नेपालमा कोरोना भाइरसबाट १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ सङ्क्रमित थपिन सक्ने उल्लेख गरिएको छ । यता, विज्ञहरुले भने नेपालमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको भन्दै तेस्रो लहर सुरु हुने चिन्ता प्रकट गरेका छन् । अहिले अस्पतालहरु कोरोना भाइरसबाट सङ्क्रमित बिरामीहरुले भरिन थालेको चिकित्सकहरु बताउँछन् । मन्त्रालयले दैनिक रुपमा सार्वजनिक गरेको तथ्याङ्कलाई आधार मान्ने हो भने अहिले दैनिक रुपमा कोरोनाबाट सङ्क्रमित हुने र मृत्युहुनेको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रक्षेपण गरेको तथ्याङ्कभन्दा अहिलेको अवस्थालाई हेर्दा सङ्क्रमण झन बढ्ने देखिएको छ ।