काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसभित्र रामचन्द्र पौडेल सहितका केही नेताले विशेष महाधिवेशनको प्रस्ताव अघि सारेपछि पौडेल समूहमै असन्तुष्टि चुलिदैं गएको छ । अहिले विशेष महाधिवेशनको परिस्थिति नै नरहेको भन्दै पौडेल समूहका नेताहरुमै असन्तुष्टि देखाएका हुन् ।

आगामी भदौमा महाधिवेशनको तयारी भएपनि क्रियाशील सदस्यता विवाद टुङ्गो नलागेकाले महाधिवेशन हुने नहुने अन्योलताका बीच पौडेलले सार्वजनिक रुपमै विशेष महाधिवेशनको प्रस्ताव अघि सार्नुभएको छ । उहाँको प्रस्तावलाई नेता अर्जुन नरसिंह केसीले पनि साथ दिँदै यसबारे बहस गर्नुभएको छ ।

संस्थापन इतर समूहका महामन्त्री शशाङ्क कोइरालालगायतले भने विशेष महाधिवेशन गर्ने परिस्थिति नआइसकेको बताएका छन् । यही विषयमा एकता कायम गर्न तथा आन्तरिक विषयमा साझा धारणा तय गर्न पौडेल समूहको बैठक आज बसेको हो । काङ्ग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बसिरहेको महामन्त्री कोइरालाले बताउनुभएको छ ।

आजको बैठकमा विशेष महाधिवेशनको विषयलगायतका विषयमा छलफल हुने भन्दै अहिले बाहिर चर्चामा आएजस्तो विशेष महाधिवेशन नै गर्नुपर्ने परिस्थिति बनिनसकेको उहाँको भनाइ छ । नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन भदौ १६–१९ गते काठमाडौंमा गर्ने तय गरिएको छ । तर, स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भएकाले महाधिवेशनको मिति पनि सर्ने हो कि भन्ने आशङ्का गरिएका बेला विशेष महाधिवेशनको चर्चा बाहिर ल्याइएको हो ।

काङ्ग्रेसका शीर्ष नेताहरुबीच हिजो बुधबार भएको बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका २÷३ दिन भित्र टुङ्गो लगाउने विषयमा छलफल भएको थियो । नेता रमेश लेखकले महाधिवेशनको कार्यतालिका अहिले नै प्रभावित भइहाल्यो भन्न नमिल्ने उल्लेख गर्दै शीर्ष तहमा यसको टुङ्गो २÷३ दिन भित्र लगाउने गरी छलफल भईरहेको बताउनुभएको छ ।