काठमाडौं — एमाले असन्तुष्ट पक्षको स्थायी कमिटीको बैठक सुरुभएको छ । स्थायी कमिटीको बैठक पछि केन्द्रीय कमिटीको बैठक बस्ने छ । पार्टी संस्थापन पक्षसँगको एकता, आगामी रणनीति र देशको राजनीतिक घटनाक्रममा स्थायी कमिटीमा छलफल हुनेछ । उक्त बैठकले केन्द्रीय कमिटीको बैठकका लागि ठोस एजेण्डा तयगर्ने नेताहरुले बताएका छन् । स्थायी कमिटीको बैठक काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बसिरहेको छ । आजबाट सुरुहुने केन्द्रीय कमिटीको बैठक भोलीसम्म चल्ने केन्द्रीय कमिटीका सदस्य एवम् सांसद विरोध खतिवडाले नवसञ्चार अनलाइनलाई जानकारी गराउनु भयो । केन्द्रीय कमिटीको बैठक पनि क्वालिटी बैंक्वेटमा नै बस्नेछ ।

केन्द्रीय कमिटीको बैठकमा भागलिन वरिष्ठ नेताद्वय खनाल–नेपाल पक्षीय नेताहरु काठमाडौं आइपुग्नु भएको छ । केन्द्रीय कमिटीको बैठकले एमाले भित्रको विवाद कसरी समाधान गर्ने र एकता सम्भव नभए कस्तो खालको रणनीति बनाएर अघिबढ्ने भन्नेमा केन्द्रीय कमिटीको बैठकमा छलफलहुने नेताहरुले बताएका छन् । देशभरको पार्टी सङ्गठनको वस्तुस्थिति बुझेर पार्टी जुट्ने कि फुट्ने कुराको निक्र्योल हुनेछ । विवाद समाधान गर्न बनेको तात्कालिन कार्यदलले गरेको सहमति समेत संस्थापन पक्षले कार्यान्वयन नगरेको र एकताका लागि अहिलेसम्म गरिएका प्रयासहरु निरर्थक भैरहेको अवस्थामा एमाले संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच एकता हुनेसम्भावना न्यून देखिन्छ ।


वरिष्ठ नेताद्वय खनाल–नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठक अवैधानिक भएको भन्दै संस्थापन पक्षले हिजो बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त पक्षको बैठकमा सहभागी नहुन केन्द्रीय कमिटीका सदस्यहरुलाई आह्वान गरेको थियो । यद्यपि, बैठकमा सहभागी हुन जिल्लामा रहनुभएका केन्द्रीय कमिटीका सदस्यहरु राजधानी आइसक्नुभएको नेता विरोध खतिवडाले बताउनुभयो ।