काठमाडौं – सरकारले नेपालको कुल जनसंख्याको १३ दशमलव ५ प्रतिशतमा कोरोना परीक्षण भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीका अनुसार साउन २० सम्म नेपालमा कुल जनसंख्याको २ दशमलव ६ प्रतिशतमा कोभिड सङ्क्रमण भएको छ । जसअनुसार ७ लाख ६९ हजार नौ सय २२ जना छन् ।

डा.लोहनीले कोभिड १९ सङ्क्रमित हुनेमध्ये ९ हजार नौ सय ५७ जनाको मृत्यु भएको छ । त्यस्तै साउन २० गतेसम्म नेपालमा कोरोना खोपको पहिलो मात्रा लगाउनेको संख्या ४२ लाख ९७ हजार ६ सय १२ जना रहेको र पूर्ण खोप प्राप्त गर्ने संख्या २० लाख ७४ हजार रहेको छ । त्यस्तै सरकारले अबको ५ महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ सङ्क्रमित थपिने प्रक्षेपण गरेको छ ।