काठमाडौं – नेकपा एमालेको वरिष्ठ नेता खनाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । आज बस्ने बैठकले सरकारमा जाने नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् । बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् । संसद् पुनसर््थापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक यो समूहको केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

खनाल–नेपाल समूहले केन्द्रीय कमिटीबाट औपचारिक निर्णय गरेपछि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको काम थाल्ने तयारी गरेका छन् । देउवालाई विश्वासको मत नदिएका खनाल–नेपाल समूहका नेताहरू सरकारमा जान नहुने पक्षमा छन् । उनीहरूले पार्टी एकता गरेर जानुपर्नेमा जोड दिइरहेका छन् । तर, तेस्रो तहका नेता तथा सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने भन्दै नेता नेपाललाई दबाब दिइरहेका छन् ।

राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय सदस्यहरुको ‘राजनीतिक घटनाक्रमबारे समीक्षा र सुझाव लिन धारणा बुझ्न बैठक बोलाइएको स्थायी कमिटी एक सदस्यले बताउनुभएको छ । मन्त्रिपरिषद् विस्तारका क्रममा खनाल–नेपाल समूह सरकारमा सहभागी भए खनाल–नेपाल समूह र माओवादी केन्द्रलाई बराबरी ६÷६ मन्त्रालय बाँड्ने तयारी भएको छ । जसपालाई ४ तथा काङ्ग्रेसलाई ८ मन्त्रालय पर्ने देखिएको छ ।