काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका शीर्ष नेताहरुबीच क्रियाशील सदस्यता सम्बन्धि विवादबारे तीन दिन भित्र टुङ्गो लगाउने सहमति भएको छ । नेपाली काङ्ग्रेसका शीर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंलाबीच आज भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टीमा देखिएको विवाद तीन दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको हो ।

प्रधानमन्त्री तथा सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा आज भने अन्य पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने ? भन्ने सम्बन्धमा केन्द्रित भएर छलफल सुरु गरिएको क्रियाशील सदस्यता छानवीन समितिका संयोजक समेत रहेका नेता रमेश लेखकले जानकारी दिनुभयो ।

‘अरु पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुको सम्बन्धमा नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता कसरी दिने भन्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरिएको छ ।’ सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको संक्षिप्त जवाफ दिने क्रममा उहाँले, ‘यसले निरन्तरता पाउँछ र २÷ ३ दिनभित्र टुङ्गो लाग्छ भन्नुभएको छ ।’

बैठकमा नेताहरुबीच आसन्न पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका पनि २ दिन भित्र टुङ्गो लगाउने विषयमा छलफल गरिएको छ । महाधिवेशनको कार्यतालिका अहिले नै प्रभावित भइहाल्यो भन्न नमिल्ने उल्लेख गर्दै नेता लेखकले शीर्ष तहमा यसको टुङ्गो २ दिन भित्र लगाउने गरी छलफल भइरहेको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन भदौं १६–१९ गते काठमाडौंमा गर्ने तय गरिएको छ । तर स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भएकाले महाधिवेशनको मिति पनि सर्ने हो कि भन्ने आशङ्का गरिएको छ ।