काठमाडौं –नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई जिम्मेवारी दिन लागिएको चर्चा चलेसँगै शाक्यले आज केही पत्रकारहरुलाई कार्यालयमा बोलाएर आफ्ना कुराहरु राख्नुभएको छ । ओली नेतृत्वको सरकारले गत कात्तिकमा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका शाक्यलाई हटाएर विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने चर्चा चलेसँगै शाक्यले यस्तो बताउनुभएको हो ।

कार्यकारी निर्देशक शाक्यले सरकारले उचित जिम्मेवारी दिए सहयोग गर्ने बताउनुभयो । सीमित पत्रकारसँग अनौपचारिक भेटघाट कार्यक्रमको आयोजना गर्नुभएका शाक्यले सरकारले जुन जिम्मेवारी दिए पनि आफूले सम्हाल्ने बताउनुभएको हो । हिजो मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवाले शाक्यलाई हटाएर घिसिङलाई प्राधिकरणमा ल्याउन उर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएको चर्चा चले लगत्तै शाक्यले आफू बाटो सहज पारिदिन तयार रहेको बताउनु भएको छ ।

उहाँले ६ महिनाको अवधिमा आफूले प्राधिकरणमा के–के काम गरें भनेर फेहरिस्त सुनाउँदै सरकारले अर्को जिम्मेवारी दिँदा जिम्मेवारी लिने बताउनुभयो । सरकारले हटाएमा वा बर्खास्ती गरेमा के गर्नुहुन्छ भन्ने प्रश्नमा शाक्यले आफूलाई अन्याय गरिए अदालत बाँकी नै रहेको बततउनुभएको छ । शाक्यका अनुसार, ‘सरकारले सही ढङ्गले कामको जिम्मेवारी दिँदा म काम गर्न तयार छु । म कर्मचारी भएकाले सरकारले खटाउँदा काम नगर्ने भन्ने भएन । तर मलाई असक्षम देखाएर जबरजस्ती निकाल्न खोजियो वा अन्याय गरियो भने अदातलसम्म पुग्ने बाटो छँदैछ ।’

आफूले सुरुवातदेखि नै कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरेको भन्दै उहाँले, ‘मैले कागती लिएर गए पनि ‘लेमेनेट’ बनाएको छु । जहाँ गएको छु, राम्रो गरेको छु । तर, दण्ड दिएर, असक्षम भनेर हटाउन खोजियो भने न्याय खोज्ने नै छु ।’ राजीनामाको सम्बन्धमा पत्रकारको प्रश्नमा शाक्यले आफूलाई कसैलाई राजीनामा दिन निर्देशन वा अनुरोध नगरेको भन्दै त्यस सम्बन्धमा अहिले केही नसोचेको बताउनुभयो ।

७ महिनाको अवधिमा आफूले ढल्केबरको ४०० केभीए प्रसारणलाइनमा पूर्णता दिएको, लकडाउनका समयमा पनि छिटो छरितो सेवा दिएको, अक्सिजन उद्योगहरुलाई प्यारालाल फिडर दिएको, सिस्टम कोल्याप्स हुने अवस्थालाई गत वर्ष ४० पटक रहेकामा यसपटक ३४ मा झारेको लगायतको प्रगति पनि सुनाउनुभयो । त्यसैगरी अपर तामाकोसीको विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोडिएको, भारतीय बजारबाट सोझै विद्युत् खरिद गर्न सकिएको लगायत प्रगति सुनाउनुभएको छ ।

शाक्यले यस आर्थिक वर्षमा विद्युत् पधिकरणको नाफा घट्नुमा प्रशासकीय नभई प्राविधिक कारण रहेको भन्दै नाफा घट्नुमा आफ्नो कुनै हात नभएको बताउनुभयो । यस वर्ष डेडिकेडेट फिडर नदिइएको कारण ३ अर्ब ५० करोड कम आम्दानी भएको, भारतबाट गत वर्षभन्दा धेरै विद्युत् ल्याइएको कारण खर्च बढेको र केही चुहावट बढेको कारण नाफामा कमी आएको शाक्यको भनाइ थियो ।

यसअघि किन पत्रकार भेटघाट नगरेको र अहिले किन भेटघाटको आवश्यकता पर्यो भन्ने पत्रकारको प्रश्नमा शाक्यले आफूले हल्ला नगरिकनै काम गरेकाले अहिले भने कामबारे बोल्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले भन्नुभएको छ, अहिले सामाजिक सञ्जालमा अनेक कुरा आइसकेका छन्, आइरहेका छन् र आउनेछन् । तर, यथार्थ के हो भनेर भन्नैपर्ने भएकाले मैले भेटघाट गरेको हुँ । प्राधिकरणमा म हुनु र नहुनु ठूलो कुरा भएन, तर मेरो कारणले प्राधिकरणको बदनामी हुनु भएन । ‘म चाहन्छु मेरो कारणले प्राधिकरणको बदनामी नहोस् ।’