काठमाडौं – काङ्ग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले तीन हप्ता बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धन दलहरुबीच तारताम्य मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइन हुन गएको हो । एमालेको असन्तुष्ट समूहका नेताद्वय खनाल–नेपालसमेत गठबन्धनमा सहभागी भएको उक्त समूहलाई पनि सरकारमा लैजाने विषयमा छलफल भै रहेको छ । तर, एमालेको संस्थापन र असन्तुष्ट समूहबीच पार्टी एकताको प्रयासमा उक्त पार्टीका दोस्रो तहका नेताहरु लागि परेकोले खनाल–नेपाल समूह तत्काल सरकारमा सहभागी हुने अवस्था देखिंदैन ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफुहरु तत्काल सरकारमा सहभागी हुने अवस्था नरहेकोले सरकार विस्तार गर्न गठबन्धन दलहरुलाई आग्रह गर्नुभएको थियो । यद्यपि, सरकारलाई बाहिरबाटै रचनात्मक सहयोग र समर्थन गर्ने नेता नेपालले एकहप्ता अघि नै बताइसक्नु भएको थियो । एमालेको आन्तरिक विवाद समाधान भएको अवस्थामा नेता नेपाल समूह गठबन्धनबाट बाहिरिने र प्रतिपक्षमा बस्ने पक्का छ ।

नेता नेपालले आफ्नो पार्टीमा एकताको प्रयास भैरहेकोले के कस्तो परिस्थिति सिर्जना हुन्छ, सोही आधारमा निर्णय गरिने हुँदा तत्काल मन्त्रिपरिषद् बिस्तार नगर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी मार्फत् प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो । सोही सन्दर्भमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सुरुदेखि अहिलेसम्म एमाले वरिष्ठ नेता नेपाल समूहलाई पनि सरकारमा सामेल गराउने बारेमा छलफल भैरहेकोले मन्त्रिपरिषद् बिस्तारमा ढिलाई भएको बताउनु भएको छ । नेता श्रेष्ठले ‘हामी नेपाल पक्ष सरकारमा सहभागी भइदियोस् भन्ने चाहन्छौं । उहाँहरुले पार्टी एकता नभएमा सरकारमा आउने आश्वासन दिनुभएको छ । वास्तवमा हामीले उहाँहरुको प्रतिक्षा गरिरहेका छौं’ भन्नुभएको छ ।

एमालेको दुवै समूह एकले अर्कोलाई गलाएर पार्टी एकता गर्ने पक्षमै देखिन्छ । पार्टीभित्रको लामो अन्तरसङ्घर्ष अहिलेसम्म सल्टिन सकेको छैन । असन्तुष्ट पक्षलाई पार्टी फुटाउन केन्द्रीय कमिटीदेखि सांसद्सम्मको गणितीय सङ्ख्याले समस्या देखिएको छ । यथास्थितिमा संस्थापन समूहसँग मिल्न सक्ने अवस्था पनि छैन । गणितीय रुपमा पार्टी केन्द्रीय कमिटी र सांसद्सङ्ख्या पुग्ने अवस्था भएको भए यतिलामो समयसम्म एमालेको विवाद रहने अवस्था हुँदैनथ्यो । वार कि पारको स्थितिले मुक्ति पाउने थियो । असन्तुष्ट समूह सम्मानजनक एकता नभएमा केही समय यतिकै चलिरहेन अवस्था छ । जसले गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ र अन्योलता बढेको छ ।

एमाले वरिष्ठ नेता नेपाल समूहले आजका लागि बोलाएको बैठक भोलिका लागि सारिएको छ । पार्टी एकताको अन्तिम प्रयास भैरहेको र पार्टीको जिल्ला बाहिर रहेका केन्द्रीय सदस्यहरु पनि बैठकमा आउने भएकोले आज बुधबारका लागि बोलाइएको बैठक भोलिको लागि सारिएको एक केन्द्रीय सदस्यले बताए । भोलिबाट तीन दिनसम्म असन्तुष्ट समूहको बैठक बस्ने छ । उक्त बैठकले सरकार जाने नजाने बारेमा जे जस्तो निर्णय गर्छ सोही अनुसार मन्त्रिपरिषद् विस्तार गर्ने ढोका खुल्नेछ ।

एमाले एकता हुने अन्तिम विन्दु भनेको पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिने वा नेपाललाई सोही सरहको शक्ति बाँडफाँड गरेर विगतमा पार्टी विधान विपरित गरिएका निर्णयहरु खारेज गर्नुपर्ने असन्तुष्ट समूहको मुख्य शर्त छन् । अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनदेखि अन्य राजनीतिक विषयमा आत्मालोचना गर्नुपर्ने अडान लिंदै आएको छ । यी र यस्ता शर्तहरुलाई अध्यक्ष ओलीले सहजै मान्ने अवस्था देखिंदैन । एमाले पार्टी यतिबेला न जुट्न सक्ने अवस्थामा छ, न फुट्न नै । एमालेको एकतालाई जोगाउन अब दुवै नेताहरुले समीक्षा गर्दै आत्मालोचना गर्नुको विकल्प देखिन्न । एमाले भित्रको द्वन्द्वको छायाँ सरकार विस्तारमा प्रतिविम्वित भएको विश्लेषण गरिएको छ । अब एमाले वरिष्ठ नेता नेपाल समूहले सरकार जाने नजाने भन्दा पनि मन्त्रिपरिषद् विस्तार गर्ने वातावरणका निम्ति सहजीकरण गर्नुको विकल्प छैन ।