वर्षाका कारण आएको बाढीपहिरोले यो वर्ष सडकमा झण्डै ८० करोडको क्षति भएको छ । हालसम्म १ सय ५८ सडक अवरुद्ध भएको र २५ पुलमा क्षति पुगेको सडक विभागले जानकारी दिएको छ । अहिलेसम्म सडकमा कति रकमको क्षति भएको भन्ने अनुमान गरिए पनि पुलमा गर्न नसकिएको विभागका सम्भार महाशाखाका प्रमुख (उपमहानिर्देशक) भीमार्जुन अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार, खोलाको सतह माथिसम्म भइरहेकाले पुलमा अहिले नै क्षति देखिएको छैन । वर्षा कम भएपछि मात्रै त्यसको क्षति यकिन हुनेछ । क्षतिग्रस्तमध्ये हाल १० सडकबाहेक अरू आंशिक वा पूर्णरूपमा सञ्चालनमा आइसकेको छन् । हालसम्म १ सय ५८ सडक अवरुद्ध भएकोमा ५२ सडक पूर्णरूपमा चालु भइसकेको र ९६ सडक एकातर्फबाट मात्रै सञ्चालनमा रहेको विभागले जनाएको छ ।

यस वर्ष क्षति पुगेका २५ पुलमध्ये आठ निर्माण सम्पन्न भइसकेका पुल हुन् भने आठ निर्माणाधीन पुल छन् । सात पुलमा क्षति नभए पनि पहुँच सडक क्षतिग्रस्त हुँदा पुल प्रयोगमा आउन नसकेको महाशाखामा कार्यरत इञ्जिनीयर केशव ओझाले बताउनुभएको छ । तीन कल्भर्ट र दुई काठको पुलमा क्षति पुगेको छ । उनले भने, ’डुम्रेबाट माथि चामे जाँदा बाटोमा सानासाना छहरामा रहेका काठको पुल पनि क्षतिग्रस्त भएको छ ।’

क्षतिग्रस्त बनेका पुलमा निर्माणाधीन भए त्यसको मर्मतको जिम्मेवारी व्यवसायीको हुने र निर्माण सम्पन्न भएर सञ्चालनमा रहेका पुलको मर्मतको जिम्मेवारी विभागको हुने इन्जिनीयर ओझाले बताए । विभागले सङ्घीय, प्रदेश र स्थानीय गरी सबै किसिमका सडकमा आवश्यकतानुसार बेली ब्रिज उपलब्ध गराउँदै आएको छ ।

आपत्कालीन प्रयोगका लागि पूर्णरूपमा यातायात नै ठप्प भएका ठाउँमा बेली ब्रिज राखिने गरिएको उनले बताए । चालु आवमा कुनै पनि ठाउँमा बेली ब्रिज राखिसकिएको छैन । विभागले मेलम्ची–हेलम्बु सडक र बेँसीसहर–चामे सडकमा बेली ब्रिज राख्ने योजना बनाएको छ । उनले भने, ’बेली ब्रिज राख्न खोलाको सतह कम भएर सडक पनि अवरुद्ध भइहाल्ने अवस्था नहुँदा सजिलो हुन्छ ।’

यस वर्ष वर्षाका कारण सबैभन्दा बढी असर बेँसीसहर–चामे सडक र अरनिको राजमार्गमा देखिएको उपमहानिर्देशक अधिकारीले बताए । बेँसीसहर–चामे सडकमा अहिले विभागले लमजुङतर्फबाट सडक खुलाइरहेको छ । मनाङतर्फ भने चट्टान रहेकाले नेपाली सेनाले नै खुलाउनुपर्ने उनले बताए । सो क्षेत्रमा चट्टान फुटाउनका लागि विस्फोटन गर्नुपर्छ । उनले भने, ’सो क्षेत्रमा सेनाको सहयोगमा सडक खुलाउने गरी कुरा भएको छ ।’ असार महिनामा वर्षाका कारण पहिराले अरनिको राजमार्गको ठाउँठाउँमा सडक अवरुद्ध बनेको थियो । अहिले पहिरो पन्छाएर कतै एकातर्फबाट त कतै दुवैतर्फबाट सडक सञ्चालन भइरहेको उपमहानिर्देशक अधिकारीले बताए । – रासस