काठमाडौ – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले देशभरका सबै जिल्लाको क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिएर भदौ पहिलो साताबाट स्थानीय तहको अधिवेशन सुरु गर्ने भएको छ । पार्टीको शीर्ष नेतृत्वले बिहीबारसम्ममा क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिने बताएको हो ।

क्रियाशील सदस्यता टुङ्गो लागेपछि स्थानीय तह अधिवेशनको कार्यतालिका सार्वजनिक गरिने भएको छ । महाधिवेशन तयारीबारे जानकारी दिँदै पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महाधिवेशनको मतदाता रहेका क्रियाशील सदस्यताको विवाद मिलेपछि अधिवेशन सम्पन्न गर्न सहज हुने बताउनुभयो । यसअघि बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यताको विवाद देखिएका जिल्लाको विवाद मिलाउने जिम्मेवारी पार्टीको शीर्ष नेतृत्वलाई दिँदै पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो ।

उहाँले पार्टीमा विशेष महाधिवेशनको सम्भावना नरहेको र पार्टी सभापति देउवा विशेष महाधिवेशन नभई विधिवत् रूपमा पूर्ण महाधिवेशनकै पक्षमा रहनुभएको जानकारी दिनुभयो । यसअघिको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पनि सभापति देउवाले आफू भदौ १६ गते नै महाधिवेशनको उद्घाटन गर्न चाहेको बताउनुभएको थियो । पार्टीमा अब धनुषा, सर्लाही, बारा, सप्तरी, सिन्धुपाल्चोक र रसुवा गरी छवटा जिल्लामा क्रियाशील सदस्यताको विवाद समाधान गर्न बाँकी छ । बाँकी सबै जिल्लामा क्रियाशील सदस्यताको विवादको छिनोफानो भइसकेको छ ।

यसैबीच, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइरालासहितका नेताहरूको मङ्गलबार पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा क्रियाशील सदस्यताको विवाद, महाधिवेशन कार्यतालिका लगायतका विषयमा छलफल गरिएको छ । पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले क्रियाशील सदस्यताको विवाद नभएका जिल्लामा महाधिवेशनका लागि सहज भएको र विवाद भएका जिल्लामा के गर्न उपयुक्त हुन्छ भन्ने विकल्पमा छलफल गरिएको जानकारी दिनुभयो ।