काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि थप सात दिन बढाइएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघि जारी गरिएको निषेधाज्ञा भोलि सकिँदैछ ।

काठमाडौं, ललितपुर र भक्तपुरमा अब साउन २७ गतेसम्म निषेधाज्ञा कायम रहने छ । यस अवधिमा सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जस्थल, संग्रहालय तथा दर्शकसहित हुने खेलकुद र मानिसहरुको भीडभाडमा रोक लगाइएको छ ।

धार्मिकस्थलहरुमा नित्यपूजा बाहेक अन्य गतिविधि सञ्चालन गर्न पाइने छैन। यस्तै शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितिमा पठनपाठन गर्न पनि रोक लगाइएको छ । तर औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्वाध सञ्चालन गर्न पाइने छ भने अन्य पसलहरु साँझ सात बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । रेष्टुरेन्टमा टेक अवे वा होम डेलिभरी साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।