काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्रकुमार कार्कीले शिक्षा र स्वास्थ्यलाई नागरिकको सहज पहुँच सुनिश्चित गर्ने किसिमले साझा न्यूनतम कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले शिक्षा र स्वास्थ्यमा सहज पहुँच नभएसम्म समाजवादको लक्ष्य पूरा नहुने भएकाले यसमा विचार गर्न ध्यानाकर्षण गराउनुभएको हो ।

नेकपा माओवादी केन्द्रका सांसद् कार्कीका अनुसार, ’साझा न्यूनतम कार्यक्रम ल्याउने चर्चा भइरहेको सन्दर्भमा शिक्षा र स्वास्थ्यलाई प्राथामिकता दिन ध्यानाकर्षण गराउँदछु । नागरिक शिक्षित र स्वस्थ हुने विषय सुनिश्चित नभएसम्म बाँकी सबै कुरा हावादारी हुन् ।’

सरकारले मजदुर र किसानको हितमा कानुन बनाउनुपर्ने माग गर्दै मजदुरलाई चाहिने अत्यावश्यक सामग्रीलाई विनाकर सुविधा दिनुपर्ने बताउनुभयो । उहाँले सदनलाई गतिशील बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।