फाइल तस्बिर

काठमाडौं – नेकपा माआवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । दुवै शीर्ष नेताहरुबीच आज बिहान भएको भेटमा देशको समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको स्रोतको भनाइ छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य पार्वती थापाको कोटेश्वर खरिबोटस्थित घरमा बिहान ९ बजेदेखि दाहाल–नेपाल वार्ता भएको थियो । एमालेको दुवै समूहका नेताहरुले माधव नेपाल र केपी ओलीको भेटवार्ता गराउने प्रयास गरिरहेका बेला दाहाल–नेपालबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेट गराएर पार्टी विवाद टुङग्याएर एकता गर्न दोस्रो तहका नेताहरु लागि परेका छन् । उनीहरुको भनाइ अनुसार दुवै शीर्ष नेताहरु सकारात्मक भएको छ ।


माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेको असन्तुष्ट खेमाका नेता नेपाललाई सरकारमा ल्याउन जोड गरिरहनु भएको छ । तर नेता नेपाल भने तत्काल सरकारमा सहभागी नहुँने तर आफुले रचनात्मक सहयोग गरिरहने बताउँदै आउनु भएको छ । एमालेको असन्तुष्ट पक्षले सरकारमा जाने नजाने निर्णय लिन नसक्दा मन्त्रिपरिषद् बिस्तार हुन ढिलाई भैरहेको छ । काङ्ग्रेस सभापति शेरबहादुर नेतृत्वको सरकार गठन भएको तीन हप्ता वित्न लाग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । गठबन्धद दलमा सहभागी एमाले नेता नेपाल पक्ष सरकारमा जाने नजाने विषयमा निर्णय गर्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भैरहेको छ ।


यता एमाले अध्यक्ष ओली र असन्तुष्ट वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता हुने चर्चा चलिरहेको छ । दुवै नेताहरुको भेट कहाँ र कुन समयमा हुने भन्ने कुरा यकिन नभएको नेता नेपाल निकट स्थायी कमिटीका सदस्य रधुजी पन्तले जानकारी दिनुभएको छ ।
अध्यक्ष ओलीसँग भेटवार्ता गर्न इन्कार गर्दै आउनु भएका वरिष्ठ नेता नेपाल दोस्रो तहका नेताहरुको आग्रह पछि अध्यक्षसँग भेटघाट गर्न राजीहुनुभएको बताइएको छ । हिजो आफु निकट दोस्रो तहका नेताहरुसँगको छलफलमा वरिष्ठ नेपालले सम्मानजनक एकताका हुने भए ओलीसँग भेट गर्न सकिने सङ्केत दिनुभएको नेता रधुजी पन्तले बताउनु भएको छ । उहाँले भन्नुभयो ‘ दुवै शीर्ष नेताहरुबीच भेटघाट र छलफल हुन्छ, कहिले र कहाँ भन्ने कुरा पछि नै हुनेछ ।’