काठमाडौं – आज मङ्गलबार देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई धेरै ठाउँमा सामान्यदेखि मध्यमखालकोे वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका कारण अहिले देशका धेरै ठाउँमा मौसममा सामान्य बदली भै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

आज दिनभर सामान्यदेखि पूर्ण बदली रही एक नम्बर प्रदेश, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित धेरै पानी पर्नसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । मङ्गलबार राती पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नम्बर एक, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

भारी वर्षाको सम्भावना रहेकोले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने हुँदा तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन पनि मौसमविदले आग्रह गरेका छन् । भारी वर्षाका कारण सडक यातायात समेत अवरुद्ध हुनसक्ने हुने भन्दै महाशाखाले सचेत रहन अनुरोध गरेको छ ।