काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले असार मसान्तसम्म देशभरका ६ सय ६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएको छ । देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६ सय ६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएको हो ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा उक्त सेवा उपलब्ध गराउन सम्बन्धित परियोजनालाई १८ वटा प्याकेज बनाएर सञ्चालन गर्दै आएको छ । उक्त प्याकेज अन्तर्गत असार मसान्तसम्ममा ९४ दशमलव ४४ प्रतिशत स्थानमा उच्च गतिको इन्टरनेट जडान भइसकेको छ ।

अठार प्याकेजमध्ये १५ प्याकेजअन्तर्गत ६० जिल्लाका तोकिएका स्थानमा १०० प्रतिशत तथा दुई प्याकेज अन्तर्गत १० जिल्लामा ५० प्रतिशतभन्दा बढी स्थानमा इन्टरनेट जडान गरिएको छ । यस्तै चार जिल्लाका तोकिएका स्थानमा सञ्जाल विस्तारका लागि सेवा प्रदायक छनोट भई निर्माण कार्य भइरहेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार १८ वटा प्याकेजका १५ हजार ९ सय ८२ स्थानमध्ये हालसम्म १४ हजार २ सय १८ स्थानमा इन्टरनेट जडान भइसकेको छ भने एक हजार ७ सय ६४ स्थानमा इन्टरनेट जडान गर्न बाँकी छ ।

यसैगरी पाँच हजार ९ सय ३३ वडा कार्यालयमध्ये हालसम्म पाँच हजार २ सय ६४ स्थान, पाँच हजार २ सय २५ माध्यमिक विद्यालयमध्ये चार हजार ६ सय ४० विद्यालय र चार हजार १ सय २२ स्वास्थ्य संस्थामध्ये तीन हजार ६ सय ५१ संस्थामा इन्टरनेट जडान भइसकेको छ । सम्पन्न भइसकेका परियोजनामध्ये हालसम्म ६ वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरण भइसकेको, दुई परियोजनाको प्राधिकणबाट नियुक्त परामर्शदाताबाट पहिलो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरण भइरहेको र दुई परियोजनाको दोस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरण भइरहेको छ ।

कुल पाँच अर्ब २६ करोड ९७ लाख ७० हजार रकममध्ये हालसम्म तीन अर्ब ३८ करोड ८७ लाख ब्रोडब्याण्ड परियोजनाका लागि सेवा प्रदायकलाई भुक्तानी गरिएको प्राधिकरणका प्रवक्ता पौडेलले बताउनुभयो । उहाँका अनुसार उक्त परियोजना अन्तर्गत देशभरका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको हो । उक्त परियोजनामा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई समेटिएको छैन । रासस