फाइल तस्वीर

काठमाडौं – नेकपा माओवादी केन्द्र त्यागेर एमालेतर्फ लिप्सिएका चार सांसद्को रिट सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायाधीश खतीवडाको इजलासमा आजका लागि उक्त रिटको पेसी तोक्नु भएको हो ।

नेकपा माओवादी केन्द्रले गरेको कारवाहीलाई चुनौती दिँदै चार पूर्व माओवादी नेताहरुले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ । पार्टी छाडेको भन्दै माओवादी केन्द्रबाट निष्कासन भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरिशंकर चौधरीले आफूहरू एमाले नभएको जिकिर गर्दै सांसद् पुनर्बहाली गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिट निवेदनमाथि यसअघि दुई पटक पेसी तोकिए पनि सुनुवाई हुन सकेको थिएन । पहिलोपटक पेसी तोकिएको दिन उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो भने दोस्रो पटकको पेसीमा रिट निवेदक पक्षकै कानुन व्यवसायीको आग्रहमा सुनुवाई स्थगित गरिएको थियो ।

माओवादी केन्द्रले आफुहरुको सांसद् पदसमेत नरहने गरी पार्टीबाट गरेको कारवाहीलाई चुनौती दिँदै पूर्व माओवादीका चार नेताले सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् । उनीहरूले माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा, अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, निर्वाचन आयोग, संसद् सचिवालय, प्रतिनिधिसभाका सभामुखलगायतलाई विपक्षी बनाएर उत्प्रेषणयुक्त परमादेशको माग गरेका छन् ।