फाइल तस्वीर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ । बैठकले माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको बारेमा टुङ्गो लगाउने छ ।

माओवादी केन्द्रका एक स्थायी समिति सदस्यका अनुसार, “पार्टीले आज माओवादीका तर्फबाट मन्त्री टुङ्गो लगाएर भोलिसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेको छ ।” हिजो बसेको स्थायी समिति बैठकपछि प्रवक्ता नाराणकाजी श्रेष्ठले नेकपा एमालेको माधव नेपाल समूहले सरकारमा जाने–नजाने निर्णय गर्न केही समय पर्खन भनेकाले ढिलाइ भएको र अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताउनु भएको हो ।

आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘बिफ्रिङ’मा माधवकुमार नेपाल पक्ष तत्काल सरकारमा सहभागी हुने सम्भावना नदेखिएको बताउनुभएको थियो । त्यसैले अब मन्त्रालय भागबण्डा गरेर सरकारलाई पूर्णता दिने पक्षमा माओवादी केन्द्र पुगेको हो । त्यसैले आजको बैठकले माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने नेताहरुले बताएका छन् ।