फाइल तस्वीर

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने बताइएको छ ।

यसअघि हिजो बसेको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुनुभएको थियो । गौतम पछिल्लो समयमा केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि स्थायी कमिटी बैठकमा सहभागी हुनुभएको थिएन । एमालेले बोलाएका बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालीपक्षीय स्थायी कमिटी सदस्यहरु भने उपस्थित भएका छैनन् । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक खनाल–नेपाल पक्षहरुले बहिष्कार गर्दै आएका छन् ।

ओली पक्षले भने एमाले विवाद समाधान कार्यदलले तयार गरेको १० बुँदे प्रस्तावका आधारमा पार्टी एकता गरेर अगाडि बढ्नु पर्नेमा जोड दिँदै आएको छ । माधव कुमार नेपालले भने उक्त कुरा अस्वीकार गर्दै आएको छ । खनाल–नेपाल पक्षहरुले सम्मानजनक एकताको वातावरण नभएसम्म एकता सम्भव नरहेको बताउँदै आएका छन् ।