काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्थायी समितिको बैठकमा माधवकुमार नेपाल समूह सरकारमा नआउने विश्लेषण व्यक्त गर्नुभएको छ । उहाँले अब मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारका लागि अझ केही दिन लाग्ने बताउनुभएको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नुभएको थियो । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टी एकतामा जाने देखिएको भन्दै उहाँले, ‘अब यो विषयमा शेरबहादुरजी र उपेन्द्रजीहरुसँग छलफल गर्नुपर्ने भयो भन्नुभएको छ ।’

माधव नेपाल समूह सरकारमा आउँदा कसरी मन्त्रालय भागवण्डा गर्ने भनेर गृहकार्य गरेको, तर अहिले परिस्थिति फेरिएकाले थप गृहकार्य गर्नुपर्ने भएको कुरा आजको बैठकमा उहाँले ब्रिफिङ गर्नुभएको एक स्थायी कमिटी सदस्यले जानकारी दिनुभयो । यसबारे आजै साँझ छलफल हुने भन्दै प्रचण्डले भोलि ३ बजे स्थायी समितिको अर्को बैठक राख्ने हुनुभएको छ ।