काठमाडौं – नेकपा एमालेको विघटित कार्यदलमा रहेका नेताहरुले पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् । एमाले संसदीय दलको आज सिंहदरबारमा बसेको विघटित कार्यदल सदस्यहरुको बैठकमा एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिइएको हो । “पार्टी एकतालाई जोगाउनुपर्छ र छोटो अवधिमै यसलाई टुङग्याएर जानुपर्छ,” बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सचिव गोकर्ण विष्टले भन्नुभयो, “अब ढिला गर्नुको अर्थ पार्टीमा एकपछि अर्को क्षति पुग्छ भन्ने निष्कर्षमा पुगियो ।”

उहाँले आफूहरुबीच भएको १० बुँदे सहमति र दुई अध्यक्षको प्रसङ्ग चलिरहेको उल्लेख गर्दै त्यसैलाई आधार बनाएर पार्टी एकताको प्रयत्नमा केन्द्रित हुने स्पष्ट पार्नुभयो । नेता रघुजी पन्तले आज बोलाइएको स्थायी कमिटी बैठकमा सहभागी हुनेबारे छलफल नभएको बताउनुभयो । उहाँले बताए अनुसार, “हाम्रो सम्पूर्ण छलफल पार्टी एकताको विषयमा मात्रै केन्द्रित भयो ।”

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज अपराह्न ४ बजे पार्टीको स्थायी कमिटी बैठक बोलाउनुभएको छ । त्यसमा नेता माधवकुमार नेपाल पक्ष सहभागी हुने÷नहुनेबारे मौन देखिएको छ । नेपाल पक्षले पार्टीभित्र दुई अध्यक्षको व्यवस्था हुनुपर्ने प्रस्ताव बाहिर ल्याएको छ भने अध्यक्ष ओली पक्षले विघटित पार्टी एकता कार्यदलले गरेको १० बुँदे सहमतिलाई मुख्य आधार बनाएर पार्टी एकता छिटो टुङ्ग्याउनुपर्ने अडान राख्दैै आएको छ ।