काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन हुनुभएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले अध्यक्ष यादवलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो ।

सङ्घीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्ताव र महेन्द्र राय यादवको समर्थनमा यादव दलको नेता चयन हुनुभएको छ । बैठकमा २१ जना सङ्घीय सांसदहरुको उपस्थिति रहेको थियो । जसपाको ३४ जना सांसदमध्ये यादवको पक्षमा २५ जना उभिएको दाबी गरिएको छ । यसअघि अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई एकलौटी रुपमा दलको नेता चयन गरेको भन्दै संसद सचिवालयलाई जानकारी दिए लगत्तै यादव पक्षले उक्त पत्र कार्यान्वयन नगर्न ध्यानाकर्षण गराएको थियो ।