काठमाडौं — विश्पव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण लगाइएको निषेधाज्ञा हटेर परीक्षा र पढाइको तरखरमा जुट्दै गरेको विश्वविद्यालयहरु तालाबन्दीले फेरि ठप्प हुन पुगेको छ । उपकुलपति, रजिस्ट्रार, रेक्टरसहित सेवा आयोगको कार्यालयमा मात्र ताला लागेका छैनन्, इञ्जिनियरिङ अध्ययन संस्थान, पशुपति बहुमुखीलगायतका क्याम्पसमा समेत ताला झुन्डिएका छन् ।
निषेधाज्ञा हटेर परीक्षा र पढाइको तरखरमा जुट्दै गरेको त्रिभुवन विश्वविद्यालयमा एक सातादेखि तालाबन्दी छ । आंशिक प्राध्यापकले करार हुनुपर्ने माग राख्दै गत शुक्रबार उपकुलपति, रजिस्ट्रार, रेक्टरसहित सेवा आयोगको कार्यालयमा ताला लगाएका हुन् । त्रिविअन्तर्गतकै पुल्चोकस्थित इञ्जिनियरिङ अध्ययन संस्थान र चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा सत्तारूढ दलनिकट विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका छन्  ।

आंशिक प्राध्यापकले करार हुनुपर्ने माग राख्दै गत शुक्रबार त्रिविका महत्त्वपूर्ण निकायमा ताला लगाएका हुन् । उपकुलपति कार्यालयअन्तर्गतको कार्यकारी, प्राज्ञिक परिषद्, अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्र, योजना निर्देशनालय, कानुनी सल्लाहकारको कार्यालय, रेक्टर कार्यालय मातहतको अनुगमन निर्देशनालय, अनुसन्धान केन्द्र, समन्वय महाशाखामा कामकारबाही बन्द छ  । रजिस्ट्रार कार्यालयको मूलगेटमै तालाबन्दी गरिँदा त्यस परिसरमा रहेका विज्ञान प्रविधि अध्ययन संस्थान र वन विज्ञान अध्ययन संस्थान डिन कार्यालयको कामकाज पनि अवरुद्ध भएको छ । आर्थिक, सामान्य प्रशासनलगायत महाशाखामा पनि काम हुन सकेको छैन । आंशिक प्राध्यापकहरू नै आन्दोलनमा उत्रिएकाले ६० भन्दा बढी आङ्गिक क्याम्पसको अनलाइन पठनपाठनमा पनि असर पुगेको छ ।

पदाधिकारीलगायत कर्मचारी कार्यालय आउने हाजिर गरेर फर्कने र बस्ने गरेका छन् । त्रिविको पाठ्यक्रम विकास केन्द्रले समकक्षताको प्रमाणपत्र वितरण गर्न नपाउँदा विद्यार्थीले हैरानी बेहोर्नुपरेको छ । त्रिवि सेवा आयोग कार्यालयमा समेत तालाबन्दी गरेका कारण प्राध्यापक, कर्मचारी छनोटमा समेत असर पुगेको छ । आंशिक प्राध्यापक नारायण कोइरालाले सरकारले आंशिक प्राध्यापकलाई करार गर्ने निर्णय कार्यान्वयन नभएकाले दबाब दिन तालाबन्दी गर्नुपरेको बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वकै सरकारले २०७४ सालमा त्रिविमा कार्यरत एक हजार चार सय २० आंशिक प्राध्यापकलाई करार गर्ने निर्णय गरेको थियो । गत वर्ष पनि आंशिक प्राध्यापकले डेढ महिनासम्म सोही निर्णय कार्यान्वयनका लागि त्रिविका निकायहरूमा तालाबन्दी गरेका थिए । त्यतिबेला त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाले गरेको सम्झौता पनि कार्यान्वयन भएको उनीहरूको गुनासो छ । गत वर्ष आंशिक प्राध्यापकलाई सम्बन्धित क्याम्पसले नै करार गर्ने र बाँकीको व्यवस्थापन त्रिविले पनि गर्ने सहमति भएको थियो ।

त्रिविका आंगिक क्याम्पसमा करिब दुई हजार आंशिक प्राध्यापक छन् । सरकारले २०६४ सालमा २०६२ भन्दाअघिका कक्षाअनुसार पारिश्रमिक लिने आंशिक प्राध्यापकलाई मासिक करारमा नियुक्ति गरेको थियो । त्यही नजिरअनुसार अहिले पनि करारमा नियुक्त गर्न दबाब दिइएको हो । आंशिक प्राध्यापकको समस्या कायमै रहेका बेला सेवा आयोगले खुला विज्ञापन गरेकाले त्यहाँ पनि तालाबन्दी गरिएको कोइरालाले बताउनुभयो ।

त्रिविमा कक्षाअनुसार पारिश्रमिक दिने गरी राखिएका १४ वर्षदेखिका आंशिक प्राध्यापक छन् । प्रतिपिरियड ३ सय रुपैयाँका दरले अध्यापन गराउने उनीहरूले मासिक पारिश्रमिक दिने गरी करारमा नियुक्तिको माग अघि सारेका छन् । त्रिविले प्राध्यापकहरूबीच नै विभेद र आंशिक प्राध्यापकलाई शोषण गर्दै आएको उनीहरूको गुनासो छ । उमेर हदका कारण निवृत्त, लामो समय अध्ययन बिदामा बसेका र विभिन्न स्थानमा नियुक्तिमा रहेका स्थायी प्राध्यापकको सट्टामा अध्यापन गराउन आंशिक प्राध्यापक राख्ने गरिएको छ । त्रिवि कार्यकारी परिषद्ले २०७४ वैशाखमै दरबन्दी थप्ने निर्णय गरेकामा स्वीकृतिका लागि शिक्षा मन्त्रालयमार्फत अर्थ मन्त्रालय पठाइएको थियो । अर्थले आर्थिक भार बढ्ने भन्दै स्वीकृति नदिँदा दरबन्दी थप हुन नसकेको विश्वविद्यालयका पदाधिकारी बताउँछन् ।

त्रिविअन्तर्गतको पुल्चोकस्थित इञ्जिनियरिङ अध्ययन संस्थानमा नेपाल विद्यार्थी सङ्घले तालाबन्दी गरेको छ । नेविसङ्घका एकाइ अध्यक्ष बबिन बस्नेतले तोकिएकै समयमा नतिजा प्रकाशन गर्नुपर्ने, प्रश्नपत्रमा हुने त्रुटि हटाउनुपर्ने, पुस्तकालय, कक्षाकोठा र प्रयोगशालाको अवस्था सुधार गर्न र पूर्वसहमति कार्यान्वयन गर्नुपर्नेलगायत ६ बुँदे माग राखेर अध्ययन संस्थानमा तालाबन्दी गरेको जानकारी दिनुभएको छ  । संस्थानको डिन कार्यालयमा गत चैत ३१ देखि तालाबन्दी गरिएको हो । साङ्केतिक रूपमा तालाबन्दी गरिए पनि माग पूरा गराउन डिनले अग्रसरता नदेखाएको बस्नेतको गुनासो छ । अखिल क्रान्तिकारीले भने आर्थिक अनियमितता छानबिन हुनुपर्ने र दोषीलाई कारबाही गर्न माग राख्दै गत साउन ५ गतेदेखि पशुपति बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको हो ।