काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकाहरूका लागि भेन्टिलेटरसहितका आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बालबालिकाहरूका लागि १ सय ८० भेन्टिलेटरसहित २ सय ५० बेड आईसीयू थप्ने जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु हुनसक्ने भन्दै कोरोना उपचार भइरहेका अस्पताललाई बालबालिकाहरूका लागि छुट्टै २० प्रतिशत बेड तयारी अवस्थामा राख्न यसअघि नै निर्देशन दिइसकेको छ । डा. पौडेलले देशभर हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बेड पनि विस्तार गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले देशभर थप एक हजार चार सय एचडीयू बेड विस्तार गर्न लागिएको बताउनुभयो । हाल देशभरका सरकारी अस्पतालहरूमा दुई हजार ७५ र निजी क्षेत्रका अस्पतालमा ७ सय ७८ एचडीयू बेड सञ्चालनमा रहेका छन् । पौडेलले भेन्टिलेटरहरूको सङ्ख्या ९ सय ४ पु¥याइएको र १ सय ८० थप्न लागिएको जानकारी दिनुभयो । कोरोना सङ्क्रमितको उपचारमा अत्यावश्यक पर्ने मेडिकल अक्सिजनको आपूर्ति सुदृढ गर्नका लागि सरकारले पाँच हजार पाँच सय अक्सिजन कन्सन्ट्रेटर ल्याइसकेको जानकारी दिनुभयो । यस्तै तीन हजार पाँच सय अक्सिजन कन्सन्ट्रेटर आउने क्रममा रहेको जानकारी गराउनुभयो । डा. पौडेलले छ हजार ३ सय ७७ अक्सिजन सिलिन्डर थप गरिएको बताउनुभयो । यस्तै १९ वटा अक्सिजन प्लान्ट, २७ वटा अक्सिजन ट्याङ्क थप गर्ने योजनाअन्तर्गत दुईवटाको कार्य सम्पन्न गरिएको बताउनुभयो ।

उहाँले विश्वव्यापी महामारीको अवस्थामा नेपाली जनतालाई कोभिड–१९ विरुद्धको खोप समयमै उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो । मन्त्रालयले विज्ञप्ति जारी गर्दै हालसम्म भारत सरकारको अनुदानबाट प्राप्त १० लाख र नेपाली सेनालाई प्राप्त एक लाख, भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरिएको १० लाख तथा कोभ्याक्सबाट प्राप्त तीन लाख ४८ हजार मात्रा सहित कुल २४ लाख ४८ हजार कोभिसिल्ड खोप प्राप्त भएको जानकारी दिनुभयो ।

यस्तै चीनबाट अनुदानमा प्राप्त १८ लाख मात्रा तथा नेपालले चीनको साइनोफार्म कम्पनीसँग गरिएको खोप खरिदको सम्झौता अनुसार ४० लाख मात्रा गरी कुल ५८ लाख मात्रा भेरोसेल खोप आपूर्ति भइसकेको बताउनुभयो । यसैगरी अमेरिकाबाट अनुदानमा प्राप्त जोन्सन एन्ड जोन्सनबाट १५ लाख ३४ हजार ८ सय ५० मात्रा सहित हालसम्म जम्मा ९७ लाख ८२ हजार ८ सय ५० मात्रा खोप प्राप्त भइसकेको बताउनुभयो । डा. पौडेलले चीनको साइनोफार्म कम्पनीसँग ६० लाख मात्रा खोप खरिदको सम्झौता अगाडि बढिसकेको बताउनुभयो । यस्तै जापान सरकारले अनुदानमा उपलब्ध गराउने १६ लाख मात्रा र भारतबाट खरिदको बाँकी १० लाख मात्रा प्राप्त हुँदा असोज मसान्तभित्र कुल एक करोड ८३ लाख ८२ हजार ८ सय ५० मात्रा खोप प्राप्त हुने उहाँले जानकारी दिनुभयो ।

उहाँले कोभ्याक्सबाट एक करोड ५० लाख डोज र १२ वर्षमाथिका बालबालिकालाई ६० लाख डोज फाइजर खोपका लागि पनि सकारात्मक रूपमा कार्य अगाडि बढिरहेको बताउनुभयो । गाभी कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसङ्ख्याका लागि प्राप्त हुने एक करोड १३ लाख डोज पनि प्राप्त हँुदै जाँदा चैत मसान्तसम्म सम्पूर्ण नेपालीहरूको पहँुचमा खोप पुग्ने बताउनुभयो ।

उहाँले खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाई विश्व स्वास्थ्य सङ्गठन र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोपहरू उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशतसम्म मुनाफा लिएर सरकारले तोकेको प्राथमिकताको समूहलाई लगाउन मिल्ने गरी स्वीकृति दिइसकेको जानकारी दिनुभयो ।