काठमाडौं – सरकारले आगामी असोज मसान्तसम्म कोरोना भाइरसको सङ्क्रमण विरुद्धको एक करोड ८३ लाख ८२ हजार ८ सय ५० मात्रा खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा हिजो जारी भएको विज्ञप्तिमा आगामी असोज मसान्तसम्म सरकारले चीन, जापान र भारतबाट गरी कूल एक करोड ८३ लाख ८२ हजार ८ सय ५० मात्रा खोप ल्याउने तयारी गरेको उल्लेख छ ।

उहाँका अनुसार चीनको सिनोफार्म कम्पनीबाट ६० हजार मात्रा खोप खरिदको सम्झौता अगाडि बढिसकेको छ । त्यस्तै कोभ्याक्स सुविधामार्फत जापान सरकारले एस्ट्राजेनेका १६ लाख मात्रा र भारतबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड आउने छ । उहाँले कोभ्याक्समार्फत १२ वर्षमाथिका बालबालिकाका लागि एक करोड ५० लाख मात्रा खोप ल्याउने गृहकार्य पनि अगाडि बढेको जानकारी दिनुभयो ।

मन्त्रालयले कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसङ्ख्याको लागि प्राप्त हुने एक करोड १३ लाख मात्रा खोप पनि क्रमशः प्राप्त हुँदै जाने र चैत मसान्तसम्म सबै नेपालीलाई खोप दिलाउने योजना रहेको छ । सरकारले अहिलेसम्म ९७ लाख ८२ हजार ८५० खोप प्राप्त गरिसकेको जनाएको छ । तीमध्ये भारतबाट १० लाख मात्रा, नेपाली सेनालाई एक लाख अनुदानमा, कोभ्याक्सबाट तीन लाख ४८ हजार मात्रा, चीनबाट दुई पटक अनुदानमा १८ लाख मात्रा भेरोसेल खोप र चीनबाट खरिद गरेको ५८ लाख मात्रा भेरोसेल खोप, र अमेरिकाबाट अनुदानमा प्राप्त जोन्सन एण्ड जोन्सन खोप १५ लाख ३४ हजार ८ सय ५० मात्रा रहेका छन् ।

मन्त्रालयले खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाई पनि विश्व स्वास्थ्य सङ्गठन र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोपको उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशत मुनाफा लिएर खरिद गर्न दिइएको उहाँले जानकारी दिनुभयो ।

यस्तै कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मन्त्रालयले अहिलेसम्म हाई डिपेन्डेन्सी युनिट (एचडियु) दुई हजार ७५ सरकारी र ७ सय ७८ निजीमा थपिएको छ । यस्तै एक हजार ४ सय एचडियु थप्ने योजनामा रहेको मन्त्रालयले जनाएको छ । भेन्टिलेटर ९ सय ४ रहेको र थप १ सय ८० थप्ने क्रममा रहेको छ । बालबालिकाका लागि १ सय ८० भेन्टिलेटरसहित २ सय ५० सघन उपचार कक्ष (आइसियु) शैया थप्ने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशत अर्थात पहिलो प्राथमिकतामा रहेका दुई करोड १५ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ४९ लाख गरि कूल दुई करोड ६५ लाखमा खोप लगाउने लक्ष्य लिएको छ । ती सबैलाई खोप लगाउनका लागि कूल पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक हुनेछ । मन्त्रालयले कूल जनसङ्ख्याको ६० प्रतिशत मानिसलाई खोप लगाएमा रोग नियन्त्रण गर्न सकिने र सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन गर्न सकिने जनाएको छ । –रासस