काठमाडौं – चीनबाट कोभिडविरुद्धको भेरोसेल खोप ४० लाख डोज नेपाल आइपुगेको छ । आज ८ लाख डोज खोप आएसँगै खरिद गरिएको ४० लाख डोज खोप नेपाल आइपुगेको हो ।

आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले बताए अनुसार, ‘आज ८ लाख डोज आएसँगै ४० लाख खोप आइसक्यो ।’ नेपाल एयरलाइन्सको जहाजले चरणचरणमा गरेको खोप ल्याएको हो । नन डिस्क्लोज एग्रिमेन्टमा चीनसँग खोप गरिद गरिएको हो । कति मूल्यमा खोप खरिद गरिएको हो, खुलाइएको छैन । चीनले देशअनुसार फरकफरक मूल्यमा खोप बिक्री गरेकाले नेपाललाई पनि गोप्य सम्झौतामा खोप उपलब्ध गराएको हो ।

चीनले अनुदानमा दिन लागेको १६ लाख डोज खोप पनि छिट्टै उपलब्ध गराउने जनाएको छ । आज अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चिनियाँ राजदूत होउ याङ्छीले छिट्टै खोप उपलब्ध गराउने बताउनु भएको छ । यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । सरकारले थप ६० लाख डोज खोप खरिद गर्ने प्रक्रिया पनि अगाडि बढाएको छ ।