काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभएको छ । महासचिव पोखरेलले नेपाल पक्षले सञ्चार माध्याममार्फत् राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढङ्गले आएको उल्लेख गर्दै स्वीकार गर्न नसकिने प्रतिक्रिया दिनुभएको हो ।

आज थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित साउन १५ को खीर खाने कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले कार्य दलले सहमति जुटाएर पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको बताउनुभयो । महासचिव पोखरेलले १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा आफूहरुको जोड रहेको पनि स्पष्ट पार्नुभयो ।

महासचिव पोखरेलका अनुसार, ‘पार्टीको विधि र विधानभन्दा फरक ढङ्गले हुन सक्दैन । पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ । हामी २०७५ साल जेठ २ गते अघि जाने कुरा गरिरहेका छौँ । त्यसमा जाँदाखेरि त्यस बेलाको विद्यमान विधान र नियमावलीमा के छ ? त्यसले अनुमति दिने, त्यसले स्वीकार गर्ने, त्यसमा व्यवस्था भएका कुराहरुलाई नै पालना गर्नु प¥यो नि, सबैले ।’

माधव नेपाल पक्षबाट दैनिकजसो विभिन्न प्रस्ताव आउने गरेको उल्लेख गर्दै महासचिव पोखरेलले ती प्रस्तावबारे आफूले बुझ्न नसकेको बताउनुभयो । उहाँले पार्टीभित्र देखिएको विग्रहकारी स्थितिको अन्त्य छिटो हुनुपर्नेमा जोड दिदैं त्यसका लागि जिम्मेवारिपूर्वक भूमिका खेल्न महासचिव पोखरेलले नेपाल पक्षसँग आग्रह गर्नुभएको छ ।

यस्तै एमालेले भोलि शनिबार पार्टी स्थायी समिति बैठक बोलाएको छ । बैठकमा पार्टीको आगामी महाधिवेशनमा केन्द्रित भएर छलफल हुने जनाएको छ । माधव नेपाल पक्षसँगको एकताको विषयलाई छिटो टुङ्ग्याएर महाधिवेशनमा केन्द्रित हुन आफूहरुले चाहिरहेको महासचिव पोखरेलको भनाई छ ।् महासचिव पोखरेलले पार्टी एकताको विषयलाई टुङ्ग्याएर पार्टीको महाधिवेशनको तयारीको कामलाई अघि बढाउन लागिएको जानकारी समेत दिनुभयो ।