काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताउनुभएको छ । नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्यूज’ नपाउने उल्लेख गर्दै कहिँकतै नचुक्न पनि आग्रह गर्नुभयो ।

विपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले केपी ओलीले यो गरेन् त्यो गरेन् भन्ने दिन गएको स्मरण गराउँदै काङ्ग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

‘कुनै पनि ‘एक्सक्यूज’ यो सरकारले पाउने छैैन । एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन । केपी ओलीले यो गरेन, त्यो गरेन् भनेर भन्ने दिन अव गए । अव यो अभावमा रहेका नागरिकलाई सरकार भनेको कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने हो। त्यसैगरी ओली नेतृत्वको सरकारले गएको साँढे ३ वर्षमा संविधानको आधार नै भत्काउने काम गरेको छ । उहाँका अनुसार, संविधान र व्यवस्था माथिनै अनेकन आशङ्का उब्जाउने जुन काम गरेको छ, त्यसलाई थितिमा ल्याउने काम वर्तमान सरकारले गर्नु पर्दछ ।’

नेता थापाले सरकारलाई सफल बनाउन सिङ्गो पार्टीले सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भएको छ । फरक प्रसङ्गमा उहाँले पार्टीको आसन्न १४ औं महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई दवाव समेत दिनुभयो । ‘पार्टीको महाधिवेशनको तिथिमिति धेरै तलमाथि गर्न पाईदैन । हाम्रो संविधानले ५ वर्ष पछि पार्टीको महाधिवेशनको मिति ६ महिना थप गर्न मिल्ने व्यवस्था गरेको छ ।’ नेता थापाले संविधानको सो व्यवस्था अनुसार अब महाधिवेशनको मिति पछि सार्न नमिल्ने दाबी गर्नुभएको छ । ‘संविधानले किटान गरेको व्यवस्था काङ्ग्रेस जस्तो लोकतान्त्रिक पार्टीले उललङ्घन गर्न मिल्दैन, अब महाधिवेशनको मिति पछि सर्दैन ।’

नेता थापाले पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद समाधान गर्ने थलो पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले पार्टीको विधानले केन्द्रिय कार्य समितिबाट सो विवाद समाधान गर्नुपर्ने व्यवस्था भए पनि पार्टी नेतृत्व विधान अनुसार चल्न नसकेकोमा आपत्ति जनाउनुभयो ।