काठमाडौं– पूर्वमाओवादी तथा एमालेका नेता टोपबहादुर रायमाझीसहित चार जनाले सांसद पदमा पुनर्बहाली गरिपाउँ भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज पनि सुनुवाइ भएन । निवेदकहरुको तर्फबाट बहस गर्ने कानुन व्यवसायीले आजको सुनुवाइ स्थगित गर्न निवेदन दिए पछि आजको बहस रोकिएको हो ।


उक्त मुद्दा आज न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा पेशी तोकिएको उक्त मुद्दा पनि निवेदक पक्षका कानुन व्यवसयीले नै स्थगित गर्न निवेदन दिएपछि रोकिएको होे । हिजो बिहिबार सोही मुद्दा न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा तोकिएको थियो । तर लागू औषधसम्बन्धी मुद्दाको बहस नसकिएका कारण ‘हेर्न नभ्याइने’ सूचीमा परेरस्थगित भएको थियो ।


एमाले स्थायी कमिटीका सदस्य समेत रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, केन्द्रीय सदस्य प्रभु साह र गौरीशङ्कर चौधरीले आफूहरुले माओवादी केन्द्र परित्याग नगरेको दाबी गर्दै सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा बुधबार छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए ।


रिट निवेदनमा आफुहरु अझै माओवादी केन्द्रको केन्द्रीय कमिटिको सूचीमा रहेको र एमालेमा प्रवेश नगरेको दावि गर्दैै सांसद पद खारेज गर्ने गरी भएको निर्णय बदर गर्न माग गरेका छन् । यी नेताहरुले नेकपा माओवादी केन्द्र छाडेको र आफुहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको पार्टीमा लागेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनीहरु एमाले ओली पक्षको स्थायी कमिटी तथा केन्द्रीय कमिटीको बैठकमा सहभागी हुँदै आएका थिए ।


तात्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भै पुनः एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किन सर्वोच्च अदालतले फैसला गरेपछि पूर्व गृहमन्त्री रामबहादुर थापा बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, गौरीशङ्कर चौधरीलगायत पूर्व माओवादीका २३ जना एमालेको ओली पक्षसँग बसेको थिए । उनीहरुलाई नेकपा माओवादी केन्द्रले पार्टी छोडेर एमालेमा बसेर दल त्याग गरेकोले पार्टी साधारण सदस्य र सांसद् पद नै नरहने गरी कारवाही गरिएको भन्दै गत चैत २४ गते संसद सचिवालयलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा उनीहरुको सांसद पद गुमेको थियो ।