काठमाडौं – सरकारले चीनबाट कोरोना भाइरस विरुद्धको थप खोप खरिद गर्न लागेको बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले नेपालका लागि चिनियाँ राजदुत होउ याङ्छीसँगको भेटमा यस्तो जानकारी गराउनुभएको हो । नेपाल सरकारले चीनबाट थप खोप खरिद प्रक्रिया अघि बढाएको भन्दै अर्थमन्त्री शर्माले यसमा राजदुतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा र राजदूत याङ्छीबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ । भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुर्ननिर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनियाँ सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गर्नुभएको छ । अर्थमन्त्री शर्माले कोभिडविरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गर्नुभयो । सरकारले चीनबाट ४० लाख डोज खोप खरिद गरिसकेको छ ।

अर्थमन्त्री शर्माले चिनियाँ सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाहरुको कार्यन्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्यसम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिवद्धता व्यक्त गरेको बताउनुभयो । उहाँले चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजना सम्पन्न गर्न नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

भेटमा चिनियाँ राजदुत होउले जुनसुकै सरकार आएपनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने धारणा व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । चिनियाँ जनता र त्यहाँको कम्युनिस्ट पार्टीसँग नेपाली जनता र यहाँका राजनीतिक दलहरुको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदुत होउले कोभिड महामारी विरुद्धको लडाईंमा आफूहरु नेपालको साथमा रहँदै आएको बताउनुभएको छ ।

चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै उपलब्ध गराउने जानकारी गराउनुभयो । भूकम्पपछि पनि चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाहरुको पुननिर्माणमा सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गर्दै उहाँले दरबार हाइस्कुलको पुननिर्माण सकिएको, वसन्तपुरको नौ तले दरबारको काम सकिन लागेको र बाँकी रहेका अन्य परियोजनाहरुको काम पनि चाँडै सम्पन्न गरिने विश्वास दिलाउनुभएको छ ।