फाइल तस्बिर

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेस क्रियाशील विवाद समाधान उच्चस्तरीय समितिको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बिहान ११ :३० बजेबाट छलफल सुरु भएको हो । क्रियाशील सदस्यता छानबिन समितिले निरूपण गर्न नसकेको क्रियाशील सदस्यताको समाधान खोज्न काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला छलफलमा जुट्नु भएको छ ।

तीन शीर्ष नेताहरुलाई सह–महामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखकले साथ दिदैं आउनु भएको छ । हिजो बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले उच्चस्तरीय समितिलाई क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदन र विवादित विषयलाई ५ दिनमा टुङ्ग्याउन म्यान्डेट दिएको छ ।

नेता सिटौलाले त्यो निर्णय गरेर क्रियाशील छानबिन समितिमार्फत सदस्यता इन्ट्री गराई सूचीलाई अन्तिम रुप दिन पाँच /सात दिन समय लाग्ने बताउनुभयो । उच्चस्तरीय समितिले तीन वटा विषयमा निर्णय लिने भएको छ । जस अन्तर्गत पहिलो – सप्तरी र बाराबाट आएको क्रियाशील सदस्यता विवादमाथि निर्णय लिने, दोस्रो– धनुषा ४ नम्बर क्षेत्र र सर्लाही २ नम्बर क्षेत्रका सन्दर्भमा अनशन र धर्ना भइरहेकोले त्यहाँको विवाद निरूपण गर्ने र तेस्रो – देशभरि लोकतान्त्रिक फोरम र राप्रपा लगायत विभिन्न पार्टीबाट आएका सदस्यहरूको समायोजन सम्बन्धी विवादलाई समाधान गर्ने रहेको छ ।