काठमाडौं – देशभर कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दै छ । आज शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार कोरोना सङ्क्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुने भएको छ । विहीबार मात्र ३ हजार ३ सय ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना सङ्क्रमणको पछिल्लो अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाँणले पनि जानकारी गराउनुभएको थियो ।