काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीको क्रियाशील सदस्यतामा देखिएका विवाद मिलाउने जिम्मेवारी नेतृत्व तहलाई नै सुम्पिएको छ । काङ्ग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको हिजो बसेको बैठकले क्रियाशील सदस्यतामा देखिएका विवाद मिलाउन नेतृत्व तहलाई जिम्मेवारी प्रदान गरेको सह–महामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभएको हो ।

काङ्ग्रेस क्रियाशील सदस्यता छानविन समितिले यही साउन १२ गते क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो । बुधबारको पदाधिकारी बैठकले प्रतिवेदनमा परिमार्जनका लागि समितिलाई एक दिनको समय प्रदान गरेको थियो । समितिले केही विवाद समाधान गरी हिजो बसेको बैठकमा परिमार्जनसहितको प्रतिवेदन प्रस्तुत गरेको सह–महामन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो । यद्यपी, प्रतिवेदनमा केही विवाद बाँकी नै छन् ।

बाँकी विवाद पदाधिकारी सम्मिलित नेतृत्व तहले दुई ÷चार दिनमा समाधान गरी केन्द्रीय निर्वाचन समितिलाई प्रतिवेदन उपलब्ध गराउने र प्रभावित भएका अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिने सह–महामन्त्री डा. महतले बताउनुभयो । काङ्ग्रेसले २०७७ साल फागुन ६ गते आसन्न १४ औँ महाधिवेशनको प्रयोजनका लागि देशभरका सम्पूर्ण क्रियाशील सदस्यहरुको नामावलीको विवरणलाई अद्यावधिक गरी अन्तिम नामावली तयार गर्न समिति गठन गरेको थियो । १४ औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यको सङ्ख्या आठ लाख ५२ हजार ७ सय ११ पुगेको छ ।

बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिला गरेर प्राप्त भएकाले पूरै बाँकी रहेको छ । त्यस्तै सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको समितिले जनाएको छ । यसमध्ये समितिले केही विवाद समाधान गरी आज प्रतिवेदन पदाधिकारी बैठकमा बुझाएको थियो । काङ्ग्रेसले १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका तय गरेको छ ।