काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयमै गर्न थाल्नुभएको छ । अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाट थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरू गरेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । आज बिहीबार पनि अध्यक्ष ओली केन्द्रीय कार्यालयमा आएर पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुभएको हो ।

अध्यक्ष ओलीले आफु प्रधानमन्त्री रहँदा उहाँले प्रधानमन्त्री निवास बालुवाटारमै पार्टीका सम्पूर्ण बैठक गर्दै आउनुभएको थियो । अब पार्टीका सम्पूर्ण बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै हुने कार्यालय सचिव तामाङले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीको स्वास्थ्यमा कुनै पनि समस्या नरहेको र सक्रिय रूपमा कार्यालयमा उपस्थित हुनसक्ने अवस्था रहेको कार्यालय सचिव तामाङको भनाइ छ । कार्यालयको व्यवस्थापनलाई पनि व्यवस्थित गरिएको तामाङले बताउनुभयो ।

सचिव तामाङले पार्टीको बैठक तथा कार्यक्रमहरू भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाइएको जानकारी दिदैं पार्टी अध्यक्ष ओलीका अत्यावश्यक बैठक भौतिक उपस्थितिविना भर्चुअल माध्यमबाट पनि गर्न सकिने गरी पार्टी कार्यालयमा भर्चुअल रूम तयार गरिएको बताउनुभएको छ ।