फाइल तस्बिर

काठमाडौं – गठबन्धन दलको नेतृत्व गर्दै प्रधानमन्त्री भएका शेरबहादुर देउवाको नेतृत्वको सरकारमा जान एमाले असन्तुष्ट समूहले वरिष्ठ नेता माधवकुमार नेपाललाई दवाव दिएका छन् । तर वरिष्ठ नेता नेपाल भने तत्काल सरकारमा जान नहुने अडानमा हुनुहुन्छ ।

एमाले वरिष्ठ नेता नेपालले यस विषयमा आज आफु निकट सांसदहरुसँगको वृहत्त छलफलपछि तत्काल सरकारमा नजाने टुङ्गोमा पुगेको हो । वरिष्ठ नेता नेपालले काठमाडौंको बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा आफु निकट रहेका शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुसँग राय सल्लाह लिनुभएको थियो । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका वरिष्ठ नेता नेपाल समूहका २३ जना सांसद मध्ये १९ जना छलफलमा सहभागिता थिए । वरिष्ठ नेता नेपाल समूहबाट सरकारमा जान मन्त्रीको आकांक्षा राखी खुट्टा उचालेर बसेका सांसदहरुलाई थामथुम पार्दै तत्काल सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको थियो ।

छलफलमा सहभागी सांसदहरु मध्ये अधिकांशले तत्कालै सरकारमा जानु पर्नेमा जोड दिएको भन्दै सांसद मेटमणि चौधरीहरुले नवसञ्चार अनलाइनलाई बताए । नेता चौधरीले ‘मलगायत अधिकांश साथीहरुले सरकारमा जानुपर्छ भनेर छलफलबाट निस्केका छौं, त्यहाँ सांसदहरुको सुझावप्रति वरिष्ठ नेताले तयसलाई गम्भीर रुपले मनन् गर्नुभएको छ । सम्भवत उहाँ पनि सरकारमा जानु पर्छ भन्ने पक्षमै हुनुहुन्छ’ भन्नुभएको छ । तर वरिष्ठ नेता नेपाल भने विघटित कार्यदलका आफ्नै समूहका नेता र स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेपछि तत्काल सरकारमा सहभागी नहुने निष्कर्षमा पुग्नु भएको छ ।

वरिष्ठ नेता नेपाल समूहका प्रभावशाली नेता विरोध खतिवडाले पनि वृहत्त छलफल पश्चात् तत्काल सरकारमा सामेल नहुने निर्णय भएको बताउनु भएको छ । नेता खतिवडाका अनुसार सरकारमा तत्काल सामेल नहुनुको मुख्य कारण भनेको पार्टी एकताका लागि अझै पनि प्रयास भैरहेको र अर्को समस्या भनेको कानुनी समस्याले गर्दा पनि सरकारमा सामेल हुन नसकिने भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो आफुसँग सहकार्य गरेका गठबन्धन दलहरुलाई आफु नेतृत्वको सरकारमा सामेल हुन आग्रह गर्नु भएको थियो । आज प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् विस्ताल गर्ने सम्बन्धमा छलफल भएको बैठकमा एमाले वरिष्ठ नेताको समूहले सहभागिता जनाएन ।


गठबन्धनमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको नेपाल समूह, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । हिजोको बैठकमा सरकारले एमसीसी पास गर्ने रणनीति लिएमा सरकारको विपक्षमा उभिने राष्ट्रिय जनमोर्चाले चेतावनी दिएको छ । त्यसैगरी एमालेका उपाध्यक्ष भीम रावले पनि एमसीसीप्रति चर्को विरोध गर्नुभएको छ । नेकपा माओवादी केन्द्र पनि एमसीसी पास गर्ने एजेण्डामा त्यति सकारात्मक देखिएको छैन ।


प्रधानमन्त्री शेरबहादुर देउवाले सम्भवत आज बिहिबार साँझ या भोली शुक्रबारसम्ममा जनता समाजवादी दललाई साथ लिएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा हुनुहुन्छ । मन्त्रिपरिषद् विस्तार गर्ने सम्बन्धमा आज प्रधानमन्त्रीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग गरी मन्त्रीहुनेहरुको नामावली माग्नु भएको थियो । राष्ट्रिय जनमोर्चाले पनि तत्काल सरकारमा नजाने बताएको छ ।