काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणका लागि वातावरण संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छन । विश्व बाघ दिवसको अवसरमा ललितपुरको खुमलटारमा राष्ट्रिय बाघ संरक्षण समितिले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले बाघको बासस्थान संरक्षण गर्न, चोरी निकासी रोक्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

यो वर्ष ‘बाघको अस्तित्व, मानवको दायित्व’ नाराका साथ बाघ दिवस मनाइएको छ । सन् २०१० मा नेपालमा १ सय २१ वटा बाघ रहेकोमा हाल बाघको संख्या २ सय ५० पुगेको छ । सन् १९१० मा रसियामा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनले गरेको प्रतिबद्धता अनुसार नेपालले बाघको संख्या दोब्बर बनाउन सफल भएको हो । नेपालमा कति बाघको संख्या उपयुक्त हुन्छ भनेर अध्ययन गरिरहेको प्रकृति संरक्षण कोषले जनाएको छ । बाघमा रेडियोयन्त्र राखेर उसको गतिविधि अध्ययन भइरहेको र प्रतिमहिना औषतमा १ जना मान्छेलाई बाघले आक्रमण गर्ने गरेको कोषले जनाएको छ ।

बाघ संरक्षणका लागि नेपाली सेना, सामाजिक संस्थाहरू, सामुदायिक तह, ड्रोन लगायतका प्रविधिबाट बाघको संरक्षणका लागि काम भइरहेको छ । बाघको अवैध सिकार तथा व्यापार, बासस्थान साँघुरो हुँदै गएको, जलवायु परिवर्तन, रोगब्याधीको उपचार गर्न समस्या लगायतका विषय बाघ संरक्षणका लागि चुनौती रहेको कोषको भनाई छ । नेपाल, भारत, बंगलादेश र भुटानमा पाटे बाघ पाइन्छ । संसारका १३ देशमा ६ प्रकारका बाघ पाइन्छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको चोरी सिकारी रोक्न नेपाली सेनाबाट भइरहेको नियमित गस्ती लगायतका काम प्रशंसायोग्य रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले बाघ संरक्षणका लागि स्थानीयलाई नै परिचालन गराउँदा स्थानीयमा रोजगारीको पनि सिर्जना हुने बताउनुभयो । प्रधानमन्त्री देउवाले बाघ र मानवबीच बेला बेलामा द्वन्द्व उत्पन्न हुने बताउँदै बाघको बसोबास क्षेत्र अतिक्रमणबाट जोगाउन जोड दिनुभयो । उहाँले नेपालमा संसारबाट बाघ हेर्न मानिसहरू आउने भएकोले पर्यटन प्रबर्द्धनमा पनि बाघको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले नेपाल सरकारले बाघ संरक्षणमा नेपालले ऐतिहासिक सफलता पाएको बताउँदै बाघको संख्या दोब्बर बनाउन सफल भएको जानकारी गराउनुभयो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सन् १९७३ मा भारतमा ९ बाघ संरक्षण क्षेत्र रहेकोमा हाल ५० वटा संरक्षण क्षेत्र रहेको बताउनुभयो । उहाँले बाघ संरक्षणमा भारतले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउँदै विश्वमा रहेका बाघको कूल संख्याको ७५ प्रतिशत बाघ भारतमा रहेको उल्लेख गर्नुभयो ।