काठमाडौं – सत्तापक्षीय गठबन्धनले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सहभागिता बिना नै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएको छ । आज बसेको सत्तापक्षीय गठबन्धनका नेताहरुको छलफलमा एमाले वरिष्ठ नेता नेपाल समुह बिना नै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको हो ।

आज बसेको सत्तापक्षीय गठबन्धनको बैठकले वरिष्ठ नेता नेपाल समुहलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् । आज बिहान साढे आठ बजे बसेको शीर्ष नेताहरुको बैठकले काङ्ग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारेको माओवादी केन्द्रका एक नेताले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँकी तीन राज्यमन्त्री बनाइने र कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको छ । तर, मन्त्रालयगत भागबण्डा बाहिर नल्याउने सहमति भएको उहाँले बताउनुभयो । राज्यमन्त्रीमा कसलाई कति भन्ने टुङ्गो लागेको छ । गठबन्धनका शीर्ष नेताहरुको गोप्य बैठकपछि जसपा कार्यकारिणी समिति बैठक पनि सुरु भएको छ । भने काङ्ग्रेस पदाधिकारी बैठक अहिले दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ ।