काठमाडौं– एमालेका चार जना नेताले सांसद पदमा पुनर्बहालीको माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा सुनुवाइ हुँदैछ । उनीहरुको रिटमा सुनुवाईका लागि न्यायाधीश कार्कीको इजलासमा पेशी तोकिएको हो ।

माओवादी पृष्ठभूमिका एमाले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीले सांसद पदमा पुनर्बहालीको माग राख्दै बुधबार सर्वाेच्च अदालतमा अलग–अलग रिट दायर गरेका थिए । एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकता भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि यी नेताहरु ओलीको कित्तामा पुगेका थिए । २०७७ फागुुन २३ गते सर्वोच्च अदालतको पैmसलाबाट नेकपा विभाजन भै पूर्ववत एमाले र माओवादी केन्द्रमा फर्किए पछि यी चारैजना नेताहरु पद छाड्ने तर ओलीको साथ नछाड्ने भन्दै एमालेतिर लागेका थिए ।

माओवादी केन्द्र परित्याग गरी एमालेको स्थायी र केन्द्रीय कमिटीमा बसेका थिए । माओवादी केन्द्रबाट निर्वाचनमा विजयी भएका नेताहरु एमालेमा समाहित भए पछि माओवादी केन्द्रले उनीहरुको सांसद पदसमेत नरहने गरी पार्टीबाट निस्कासित गरेको थियो । पार्टी विभाजन पछि उनीहरु एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा मन्त्री हुँदै एमालेको पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्य समेत रहेका छन् । एमालेको संस्थापन पक्षको हरेका बैठकमा उनीहरुले आफ्नो उपस्थिति देखाउँदै आएका छन् ।

यता एमालेमा पनि पार्टी भित्र ठूलो अन्तर्संघर्ष चलिरहेको छ । एमाले असन्तुष्ट पक्षको नेतृत्व गरेका माधवकुमार नेपाल समूहले एमाले ब्युतिएपछि माओवादी केन्द्रसँग एकताहुनु पूर्वकै अवस्थामा पार्टी लैजानु पर्ने अडान राख्दै आएका छन् । त्यसो गर्दा एमालेमा रहेका पूर्वमाओवादी नेताहरुको राजनीति भविष्य नै खतरामा परेको छ यतिबेला । आफ्नो राजनीतिक अस्तित्व र पहिचानका निम्ति अहिले यी नेताहरुले आफुहरु एमाले नभएको भन्दै पुरानो पार्टी माओवादी केन्द्रमै फर्किन चाहेका छन् । माओवादी केन्द्र त्यागेको भन्दै पार्टीले सांसद पदबाट बर्खास्त गरेको तीन महिनापछि उनीहरु पुनर्बहालीको माग राखेर सर्वाेच्च गएका हुन् । त्यसैअनुसार उनीहरुले सर्वोच्च अदालतमा पनि आफुहरु एमाले नभएको र माओवादी केन्द्रमै रहेको जिकिर गर्दै सर्वोच्च अदालतमा सांसद् पद जोगाइदिन रिट हालेका हुन् ।